इन्टरपोलको नयाँ अध्यक्षमा किम


दुबई (एजेन्सी)
दक्षिण कोरियाका किम जोंग यांग इन्टरपोलको नयाँ अध्यक्षमा निर्वाचित भएको छ । उक्त पदका लागि किमले रुसका एक अधिकारीसँग प्रतिस्पर्धा गरेका थिए । रुसी अधिकारीको उम्मेदवारीले पश्चिमा जगतलाई अत्यन्तै अप्ठयारोमा पारेको थियो । अमेरिका समर्थित किम इन्टरपोलका कार्यवाहक अध्यक्ष थिए । दुबईमा इन्टरपोल सदस्य देशको बैठकका क्रममा किम नयाँ अध्यक्षमा चुनिए । उनले गत सेप्टेम्बरमा चीनमा बेपत्ता भएका मेंग होंगवेइको स्थान लिनेछ ।

दुबइमा गत सोमबार विश्वभरका नेता इन्टरपोलको नयाँ अध्यक्ष चुनावका लागि भेला भएका थिए । मंगलबार अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले किमलाई आफनो समर्थन रहेको बताएका थिए । उनले अब सन् २०२० सम्म मेंगको कार्यकाल पुरा गर्नेछ ।

पोम्पियोले पत्रकारहरुलाई भने– हामी इमान्दारपुर्वक नेताको चुनावमा कानुनको आदर गर्ने इन्टरपोलको हिस्सा रहेका सबै देश र संगठनलाई प्रोत्साहित गछौं । किमले त्यही प्रमाणित गर्ने छ भन्ने हामी अपेक्षा गर्छौं ।
निबर्तमान अध्यक्ष मेंग गत सेप्टेम्बरमा चीन जाने क्रममा वेपत्ता एका थिए । पछि उनलाई भ्रष्टाचार सम्बन्धी मुद्दामा हिरासतमा लिइएको खुलासा भएको थियो । उक्त पदमा नियुक्त हुनु अगाडी मेंग कयौं बर्षसम्म चीनको कम्युनिस्ट पार्टीका प्रभावशाली नेता तथा महत्वपुर्ण जिम्मेवारीमा रहेका थिए ।