‘निर्मला हत्याकाण्डमा सरकार उदासिन’

0
Shares

नेपाल समाचारपत्र, महेन्द्रनगर
नेपाली काँग्रेसका युवा नेता गगन थापाले बलात्कार पछि हत्या गरिएककी कञ्चनपुरकी बालिका निर्मला पन्तको घटनामा सरकार गम्भीर नदेखिएको आरोप लगाएका छन् । बुधबार कञ्चनपुरको महेन्द्रनगरस्थित कांग्रेसको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन ।

यहि महिनादेखि सुरु हुने कांग्रेसको महासमिती बैठकमा तल्लो स्थानबाट प्रस्ताव प्रस्तुत हुने भएकोले त्यसको लागि प्रशिक्षण कार्यक्रममा सहभागी हुन नेता थापा सुदूरपश्चिम आएका हुन ।

प्रनिनिधिसभा सदस्य समेत रहेका नेता थापाले निर्मला प्रकरणमा न्याय दिन सरकार उदासीन भएकै कारण सरकारप्रतिको जनविश्वास टुट्दै गइरहेको बताए । घटनाको अनुसन्धानमा सरकार सुरुवातदेखि उदासिन रहेको उनको आरोप छ ।

फरक प्रसङ्गमा उनले ओली नेतृत्वको वर्तमान सरकारले जनचाहना अनुसार काम गर्न नसकेको बताए । जनताको लामो प्रतीक्षापछि मुलुकमा स्थिर सरकार आएको तर सरकारले जनचाहना अनुसार काम गर्न नसकदा सरकारप्रतिको जनविश्वास टुट्दै गइरहेको उनको भनाई छ ।

यसैबीच कांग्रेस नेता गगन थापाले छोरीको न्यायको खोजीमा गत २५ कार्तिकदेखि जिल्ला प्रशासन कार्यालयको मुख्य प्रवेशद्धार अगाडि अनिश्चितकालिन २४ घण्टे धर्नामा बसेका निर्मलाका आमाबुवालाई भेटेका छन् ।

बुधवार धर्नास्थल जिल्ला प्रशासन कार्यालय पुगेर नेता थापाले निर्मलाका आमाबुवालाई भेटेका हुन । भेटका क्रममा नेता थापाले न्यायका निम्ति लडाइँ जारी रहने बताए । चिसोले स्वास्थ्य अवस्था बिग्रदै गएकाले निर्मलाका आमाबुवालाई स्वास्थ्यमा पनि ध्यान दिन आग्रह गरे ।

‘तपाईहरु आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोस् ।’ उनले भने, ‘तपाईहरुको सन्देश प्रधानमन्त्री र प्रतिपक्षी दलका सभापति समक्ष म र्पुयाउँछु ।’