अरनिको राजमार्गमा सुरक्षित अभियान सुरु हुँदै

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर
नेपालकै नमुना सडकको रुपमा रहेको अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको ६ लेन सडकमा दुर्घटना हुने क्रम बढ्दै गए पछि सुरक्षित राजमार्ग अभियान संचालन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आयोजना गरेको सरोकारवालाहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा बोल्दै पुर्व मन्त्री तथा प्रतिनिधि सभाका सांसद महेश बस्नेतले पछिल्लो समयमा ६ लेन सडक मृत्युमार्गको रुपमा चिनीने भय उत्पन्न भएको भन्दै जिल्लाबासी सबैको साझा पहलमा यो सडकलाई सुरक्षित,जाममुक्त र सफा बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले सिसीटिभी,ट्राफिक लाईटको यथेष्ट ब्यबस्था,लेन मार्किङ्ग तथा अन्य सुरक्षात्मक उपाए अपनाउन तीनै तहका सरकार र सरोकारवालाबीच जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयले समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।

-सुरक्षाकर्मीसहित दैनिक सय जना खटिने
-¥यापिड रोड रिपियर टिमसमेत गठन गरिने

भक्तपुरका कुनै पनि सडकमा सर्भिस ट्रयाक खोल्न आवश्यक पर्ने बजेट सडक विभागले उपलब्ध गराउने समेत उहाँले बताउनुभयो ।सांसद बस्नेतले छलफल र सहकार्य गर्दै विकास निर्माणका कार्य गर्न उपयुक्त वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै हनुमन्ते नदीको करिडोर निर्माण प्रकृया अघि बढेको जानकारी गराउँदै निर्माण सम्पन्न भएपश्चात कोटेश्वरको जाम न्युनिकरण हुने उहाँले बताउनुभयो ।

सांसद बस्नेतले विपद् व्यवस्थापन गर्न आवश्यक पर्ने सामग्री व्यवस्थापन गर्न करिव रु १३ लाख पर्ने र त्यसको व्यवस्थापन आफुले गर्ने समेत प्रतिवद्धता ब्यक्त गर्नुभयो । त्यस्तै राजमार्गलाई सुरक्षित बनाउन ट्रिपरलाई कुनै नयाँ प्रकारको बाध्यकारी नियम ल्याई सहजता ल्याउनुपर्नेमा जोड दिनुभयो ।

अर्का सांसद प्रेम सुवालले छ लेन सडकलाई सुरक्षित र जाममुक्त बनाउन भक्तपुर जिल्लाको पहल मात्र पर्याप्त नहुने भन्दै यसमा केन्द्र र प्रदेश सरकारको पहल समेत अपरीहार्य रहेको बताउनुभयो । सांसद सुवालले सन्तुलित विकास गर्नुपर्नेमा जोड दिंदै जनताको चाहना अनुसारकोे विकासका कार्यहरु तीनै तहले गर्नुपर्ने बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले यो अभियानमा राजनीतिक दललाई पनि संगै लानुपर्ने र अभियानका क्रममा वातावरण संरक्षण गर्दै वृक्षारोपण गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले भोली बिहीबारदेखि एक महिनासम्म निरन्तर सुरक्षित ,सफा र ब्यबस्थित राजमार्ग अभियान संचालन गरिने जानकारी दिंदै राजमार्गलाई चुस्तदुरुस्त राख्न र्यापीड रोड रिपीयर टिम समेत गठन गरिने बताउनुभयो ।

अरनिको राजमार्ग सफाई अन्तर्गत दैनिक सुरक्षाकर्मी सहित एक सय जना खटिने बताउँदै ६ लेन सडकमा सर्भिस ट्रयाकबाट मोटरसाईकल चलाउन परीक्षण गरिने बताउनुभयो । राजमार्गमा लागु औषध र मदिरा नियन्त्रण गरिने उहाँको भनाई थियो । प्रमुख जिल्ला अधिकारी भट्टले सामाजिक रुपान्तरण गर्न सवै तह र तप्काको साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।