नेकपाको संसदीय दल एउटै बनाइँदै

0
Shares

गंगा बराल, काठमाडौँ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभाअन्तर्गतको संसदीय दलको कार्यालय एउटै बनाउने तयारी थालेको छ ।

तत्कालीन नेकपा एमालेको संसदीय दल रहेकै भवनमा प्रमुख सचेतकको कार्यालय बनाइँदै छ । ‘अब केही दिनमै उहाँ (प्रमुख सचेतक) पनि यही कार्यालयमा आउनुहुन्छ’, नेकपाका सचेतक शान्ता चौधरीले भन्नुभयो– ‘तयारी भइरहेको छ, कोठा व्यवस्थापन गरिरहेका छौं ।’

अहिलेसम्म प्रमुख सचेतक देवप्रसाद गुरुङ नेकपा (माओवादी केन्द्र) को संसदीय दल रहेको पुरानै भवनमा बस्दै आउनुभएको छ । दुई पार्टी मिलेर नेकपा भए पनि प्रमुख सचेतक र सचेतकको कार्यालय अलग–अलग हुँदा नेता, कार्यकर्ता तथा भेट गर्न आउने समेत अलमलमा पर्दै आएका छन् ।

२०७४ असोज १७ गते एमाले र माओवादी केन्द्र एकतासम्म पुग्ने गरी एकताको बाटोमा अघि बढेका थिए । दशैं मनाइरहेका बेला काठमाडौंको राष्ट्रियसभा गृहमा अचानक भएको एकताको घोषणाअघि दुवै पार्टीको कुनै पनि समितिको बैठक बसेर औपचारिक निर्णय गरेको थिएन ।

-कोठादेखि मूल गेटसम्म परिवर्तन
–बारेर भए पनि कोठा पु¥याइने

हतारमा एकताको घोषणा गरिँदा यस्तो महान् अवसरमा पनि कुनै ब्यानर टाँगिएको थिएन । संविधानसभाको दोस्रो निर्वाचनपछि बनेको संबिधानसभामा एमाले र माओबादीबीच भनाभन र एक अर्कामा आरोप–प्रत्यारोपले यो अवस्था आउला भन्ने पनि लाग्दैनथ्यो । एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभाको संसदीय दलको नेता चयन हुनुभएको छ, उहाँ प्रधानमन्त्री पनि हुनुहुन्छ । निर्वाचनमा एमाले र माओवादीले भागवण्डा गरेर उम्मेदवार उठाएका थिए । प्रतिनिधिसभा र प्रदेशसभामा एकै प्रकारको भागवण्डा भए पनि राष्ट्रियसभामा भने माओवादी केन्द्रले थोरै सिट पाएको थियो ।

एमाले र माओवादीको तालमेलमा बनेको सरकारको नेतृत्व गरेका ओलीले भद्र सहमतिअनुसार सरकार हस्तान्तरण गर्न नचाहेपछि ओली र प्रचण्डबीच द्वन्द्व बढेको थियो । अन्तिम अवस्थामा प्रचण्डले ओलीलाई दिएको समर्थन फिर्ता गरेर नेपाली कांग्रेससँगको सहकार्यमा सरकार बनाउनुभएको थियो । प्रचण्डले कांग्रेससँग गरेको भद्र सहमतिअनुसार कांग्रेसलाई सरकारको जिम्मेवारी सुम्पिएर शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभयो ।

चुनावी तालमेल गरेपछि माओवादी सरकारबाट बाहिरियो र राप्रपा र राप्रपा प्रजातान्त्रिकको सहभागिता रहेको देउवा सरकारले प्रदेश, प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन गरायो । नेकपामा २ जना अध्यक्ष हुनुहुन्छ । ५ वर्षे सरकार रहने भनिए पनि ओली र प्रचण्डबीच आलोपालो सरकारको नेतृत्व गर्ने भित्री सहमति भएको सूचना बाहिर आएको थियो । सरकारको कार्यकाल सकिँदै गरेको भनिएपछि कर्मचारीले नटेर्ने र सरकारप्रतिको जनविश्वास घट्दै जाने बुझेका उनीहरुले यही सरकार ५ वर्ष नै रहने भन्दै आएका छन् । जेठ ३ गते मदन भण्डारी र जीवराज आश्रितको दासढुंगामा जिप दुर्घटना भएको दिन छानेर एकता घोषणा भएको थियो । प्रचण्डले एमालेको मन जित्नका लागि यो दिन छानेको बताइएको थियो ।

पार्टी नमिल्दा तत्कालीन नेकपा (एमाले) ले खगराज अधिकारीलाई प्रमुख सचेतक बनाएको थियो भने सचेतक चौधरी नै हुनुहुन्थ्यो । तत्कालीन नेकपा माओबादी केन्द्रले गुरुङलाई नै प्रमुख सचेतकको जिम्मेवारी दिएको थियो, उसले सचेतक छानिसकेको थिएन ।

नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ बस्दै आउनुभएको कार्यकक्षमा पनि मूल प्रवेशद्वार परिवर्तन गरिएको छ । तत्कालीन एमालेको संसदीय दलमै उहाँलाई ३ वटा कोठा दिइएका छन् । सचिवालय, कार्यकक्ष र गोप्य कोठा यथावत् रहे पनि कार्यकक्षबाहेक अरु २ कोठा हेरफेर गरिएको संसदीय दलले जनाएको छ । प्रतिनिसिभातर्फ नेकपामा १ सय ७४ सांसद रहेकामा पूर्वएमालेका १ सय २१ र पूर्वमाओवादीका ५३ जना रहेका छन् ।

राष्ट्रियसभाका नेकपा दलका नेता र प्रमुख सचेतक बस्ने भवन अहिलेसम्म बेग्लै छ । उहाँहरुलाई पनि नयाँ व्यवस्थापन गर्दै गरेको तत्कालीन एमाले संसदीय दलकै कार्यालयमा ल्याइँदै छ । संसदीय दलका शाखा अधिकृत ज्ञानहरि पन्थीले भवन साँधुरो भए पनि व्यवस्थापन गरिने बताउनुभयो । सबैलाई सहज ढंगले कोठा पु¥याउन गाह्रो हुने भएकाले बैठक कक्षलाई बारेर वा अन्य खाली कोठालाई मर्मत गरेर व्यवस्था मिलाउने जानकारी दिनुभयो ।

संसदीय दलका नेता केपी शर्मा ओलीको कार्यकक्ष पनि उक्त दलको संसदीय भवनमा रहेको छ । सूर्य चिन्ह लिएर नवलपरासी (पश्चिम १) बाट प्रतिनिधिसभा निर्वाचन जितेका तराई मधेस लोकतान्त्रिक पार्टीका तत्कालीन सहअध्यक्ष हृदयेश त्रिपाठीको कार्यकक्षसमेत एमालेको सोही कार्यालयभित्रै रहेको छ ।

तर दलको ‘पिजन होल’ भने प्रतिनिधिसभाकै संसदीय दलमा रहेको छ । संसद्का चिठीपत्र, विधेयक र महत्वपूर्ण कागजात ‘पिजन होल’ मार्फत उपलब्ध गराइन्छ । केही दिनअघि राष्ट्रियसभाका संसदीय दलका नेता दिनानाथ शर्माले नेकपाको प्रतिनिधिसभाको संसदीय दलको कार्यालय रहने भवन र त्यसको भौतिक संरचनाबारे स्थलगत जानकारी लिनुभएको थियो ।