सुन्दरपुरमा तीन हजार बोतल च्याउको बीउ उत्पादन गरिने

0
Shares

मनोज भट्ट, कञ्चनपुर ।
नेपालमा खेती गर्न सकिने च्याउ विभिन्न प्रकारका छन् । विशेषज्ञको सल्लाह लिएर आफ्नो ठाउँको वातावरण र उपलब्ध साधनमा आधारित भएर फरक९फरक किसिमका च्याउ खेती गर्न सकिन्छ । नेपालमा अहिले कन्या च्याउ, गोब्रे च्याउ, सिताके च्याउ र राते च्याउको खेती भइरहेको छ । जस अन्तरगत कञ्चनपुरको बेदकोट नगरपालिकाको सुन्दरपुरमा रहेको क्षेत्रीय बाली संरक्षण प्रयोगशालाले चालु आर्थिक वर्षमा तीन हजार बोतल कन्या जातको च्याउको बीउ उत्पादन गर्ने लक्ष्य लिएको छ ।

यो खेतीमा सामान्य आय भएका परिवारले पनि लगानी गर्न सक्छन् । यसबाट प्रतिफल लिन पनि खासै समय लाग्दैन । त्यसैले सीप सिकेर अठोटका साथ काम गर्दा सफलता निश्चित नै छ । गत आर्थिक बर्षमा प्रयोगशालाले दुई हजार एक सय १६ बोतल च्याउको बीउ उत्पादन गरेको थियो ।

च्याउ खेती गर्ने किसानको बढ्दो मागका कारण गत बर्ष भन्दा बढी बीउ उत्पादन हुन लागेको प्रयोगशालाका बालि संरक्षण अधिकृत प्रमोद ठगुन्नाले बताए । ‘उत्पादन हुने गुणस्तरीय बीउ रु २५ प्रति बोतलका दरले बिक्री गरिने छ ।’ उनले भने ‘गत वर्ष समेत यसै मूल्यमा किसानलाई बीउ उपलव्ध गरेका थियौं ।’ प्रयोशालाले कन्या जातको च्याउको बीउ उत्पादन गर्दै आएको छ ।

यस बर्ष नमूनाका रुपमा गोव्रे च्याउको बीउ समेत उत्पादनका लागि कार्य अगाडी बढाएको छ । प्रथम चौमासिकको बजेट रकम ढिलो गरी निकासा हुदा बीउ उत्पादनको कार्यमा ढिलाई भएको छ । ‘रकम समयमै निकासा भए अहिले सम्म किसानलाई बीउ उपलव्ध गराई सक्थ्यौं ।’ प्रयोगशालाका नायव प्राविधिक सहायक राममिलन चौधरीले भने,‘बजेटको ढिलाईले बीउ उत्पादन समयमै हुन सकेको छैन ।’ मदर कल्चर गर्नका लागि बीउ नपाईदा यस बर्ष सव कल्चर गरेर बीउ उत्पादनको कार्य आगाडि बढाइएको छ ।

‘भारतको पन्त नगरमा समेत मदर कल्चर नपाईए पछि बुटवल बाट मगाएका छौं अहिले सम्म नपाईएकाले सव कल्चर गरेर बीउ उत्पादन हुन थालेको छ’ उनले भने । बीउ उत्पादन गर्नका लागि भवन अभाव हुदा प्राविधिकलाई अप्ठेरो हुने गरेको छ ।

‘ढुसिनासक ट्राइकोडर्मा र च्याउको बीउ एकै भवनमा उत्पादान हुन गत बर्ष बीउ बिग्रियो ।’ प्राविधिक चौधरीले भने ‘प्रयोगशाला र च्याउ उत्पादनका लागि अलग्गै भवनको आवश्यकता छ ।’

च्याउ खेतिका लागि गाउँघरमा सहजै उपलब्ध हुने पराल, केराको पात लगायत सामग्री नै मुख्य हुन् । यसबाहेक टहरा बनाउन खर, बाँस लगायत पनि चाहिन्छ । यि साधन गाउँ घरमा सहज रुपमा पाइने भएकाले यसका लागि ठूलो संघर्ष गर्नु पर्दैन । बजारमा च्याउका बिउ सहजै किन्न पाइन्छ ।