अरनिको राजमार्गमा सुरक्षित अभियान सुरु हुँदै

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।
नेपालकै नमुना सडकको रुपमा रहेको अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको ६ लेन सडकमा दुर्घटना हुने क्रम बढ्दै गए पछि सुरक्षित राजमार्ग अभियान संचालन गरिने भएको छ ।जिल्ला प्रशासन कार्यालय भक्तपुरले आयोजना गरेको सरोकारवालाहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा बोल्दै पुर्व मन्त्री तथा प्रतिनिधि सभाका सांसद महेश बस्नेतले पछिल्लो समयमा ६ लेन सडक मृत्युमार्गको रुपमा चिनीने भय उत्पन्न भएको भन्दै जिल्लाबासी सबैको साझा पहलमा यो सडकलाई सुरक्षित,जाममुक्त र सफा बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले सिसीटिभी,ट्राफिक लाईटको यथेष्ट ब्यबस्था,लेन मार्किङ्ग तथा अन्य सुरक्षात्मक उपाए अपनाउन तीनै तहका सरकार र सरोकारवालाबीच जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयले समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।

भक्तपुरका कुनै पनि सडकमा सर्भिस ट्रयाक खोल्न आवश्यक पर्ने बजेट सडक विभागले उपलब्ध गराउने समेत उहाँले बताउनुभयो ।सांसद बस्नेतले छलफल र सहकार्य गर्दै विकास निर्माणका कार्य गर्न उपयुक्त वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै हनुमन्ते नदीको करिडोर निर्माण प्रकृया अघि बढेको जानकारी गराउँदै निर्माण सम्पन्न भएपश्चात कोटेश्वरको जाम न्युनिकरण हुने उहाँले बताउनुभयो ।

सांसद बस्नेतले विपद् व्यवस्थापन गर्न आवश्यक पर्ने सामग्री व्यवस्थापन गर्न करिव रु १३ लाख पर्ने र त्यसको व्यवस्थापन आफुले गर्ने समेत प्रतिवद्धता ब्यक्त गर्नुभयो । त्यस्तै राजमार्गलाई सुरक्षित बनाउन ट्रिपरलाई कुनै नयाँ प्रकारको बाध्यकारी नियम ल्याई सहजता ल्याउनुपर्नेमा जोड दिनुभयो ।

अर्का सांसद प्रेम सुवालले छ लेन सडकलाई सुरक्षित र जाममुक्त बनाउन भक्तपुर जिल्लाको पहल मात्र पर्याप्त नहुने भन्दै यसमा केन्द्र र प्रदेश सरकारको पहल समेत अपरीहार्य रहेको बताउनुभयो । सांसद सुवालले सन्तुलित विकास गर्नुपर्नेमा जोड दिंदै जनताको चाहना अनुसारकोे विकासका कार्यहरु तीनै तहले गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेश सांसद प्रतिमा श्रेष्ठ,सरस्वती बाटी र रजनी जोन्छेले ले प्रदेश नं. ३ लाई प्लास्टिक मुक्त र धुवाँ रहित बनाउने नीति सरकारले अघि बढाएको बताउँदै हराभरा, सुन्दर, शान्त, मदिरा तथा लागुऔषध मुक्त भक्तपुर बनाउन जिल्लाका सम्पूर्ण निकाय, जनप्रतिनिधि तथा राजनैतिक दलहरु एकढिक्का भई अघि बढ्नु आवश्यक रहेकोमा जोड दिनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले यो अभियानमा राजनीतिक दललाई पनि संगै लानुपर्ने र अभियानका क्रममा वातावरण संरक्षण गर्दै वृक्षारोपण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले भोली बिहीबारदेखि एक महिनासम्म निरन्तर सुरक्षित ,सफा र ब्यबस्थित राजमार्ग अभियान संचालन गरिने जानकारी दिंदै राजमार्गलाई चुस्तदुरुस्त राख्न र्यापीड रोड रिपीयर टिम समेत गठन गरिने बताउनुभयो ।

अरनिको राजमार्ग सफाई अन्तर्गत दैनिक सुरक्षाकर्मी सहित एक सय जना खटिने बताउँदै ६ लेन सडकमा सर्भिस ट्रयाकबाट मोटरसाईकल चलाउन परीक्षण गरिने बताउनुभयो ।राजमार्गमा लागु औषध र मदिरा नियन्त्रण गरिने उहाँको भनाई थियो । प्रमुख जिल्ला अधिकारी भट्टले सामाजिक रुपान्तरण गर्न सवै तह र तप्काको साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

नेकपा भक्तपुरका अध्यक्ष बचन देउजाले सडकमा सिसिटिभीको व्यवस्थापन गरी ट्राफिक व्यवस्थापनको नयाँ प्रविधिको प्रयोग गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।ट्रिपरलाई राती मात्र चल्न दिंदा पनि त्यो समयमा सडक ट्रिपरको जस्तो मात्र हुने गरी आतंक सृजना भएकोले राजमार्गमा ट्रिपर चलाउन उपयुक्त नीति ल्याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा यस सम्बन्धी प्रतिबेदन प्रस्तुत गर्दै बीरदलगण सुर्यबिनायकका गणपति शिबप्रसाद पौडेलले सडक तथा फुटपाथ अतिक्रमण गर्ने क्रम बढेको बताउनुभयो ।छाडा चौपाया र मरेका जनावरका कारण पनि दुर्घटना बढेको बताउँदै यस तर्फ नगरपालिकाहरुले ब्यबस्थापनमा चासो दिनुपर्ने औंल्याउनुभयो ।

उहाँले सर्भिस लेनलाई ब्यबस्थित बनाउनुपर्ने बताउँदै सडक छेउका खाली जग्गा भाडामा लिई पार्किङ्ग स्थल बनाउन सकिने बताउनुभयो । प्रमुख सेनानी पौडेलले विपद् ब्यबस्थापन, सरसफाई लगायतका विकासका कार्यमा आवश्यक पर्ने जनशक्ति परिचालन गर्न आफु तयार रहेको समेत बताउनुभयो ।

मध्यपुरथिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले फुटपाथलाई ब्यबस्थित गर्ने तयारी गरिएको बताउँदै सडकमा अनियमित रुपमा लामो समयदेखि पार्किङ्ग गरिएका सवारीलाई कवाडीमा बेच्ने तयारी नगरपालिकाले गरेको बताउनुभयो । प्रमुख श्रेष्ठले अनियमित रुपमा पार्किङ गरेका सवारी साधनलाई नगरपालिकाले नियन्त्रणमा लिई निमय अनुसार कारवाही गर्ने बताउनुभयो ।

सुर्यबिनायक नगरपालिकाका प्रमुख बासुदेब थापाले रचनात्मक काममा हर तरहले कार्यान्वयन गर्न र सहयोग गर्न तयार रहेको बताउनुभयो ।

भक्तपुर प्रहरी प्रमुख हिमालय कुमार श्रेष्ठले समस्या औल्याउने तर त्यसको समाधानको बाटो नखोज्नाले समस्या उत्पन्न भएको बताउनुभयो । उहाँले सर्भिस ट्रयाकको शुरु गर्नुभन्दा पहिले नै पार्किङको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले राजमार्ग व्यवस्थापन तथा सरसफाईलाई प्रभावकारी बनाउन मानविय सोचमा विकास र विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।उहाँले भएका ट्राफिक लाईटलाई नियमित रुपमा संचालनमा ल्याउनुपर्नेमा जोड दिंदै राजमार्गमा आकाशेपुल र ट्राफिक लाईट थप गर्नुपर्ने तथा सडकमा यात्रु र पैदलमार्गीको सुरक्षालाई ध्यान दिनुपर्ने औंल्याउनुभयो ।

गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाईंले यो अभियानमा जिल्लाका ४ वटै नगरपालिका लगायत जिल्ला समन्वय समिति ,प्रहरी र समुदाय सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा उद्योग बाणिज्य संघका राजुमान बज्राचार्य,नेपाल रेडक्रसका मन्त्री परशुराम पाण्डे लगायतले बढ्दो सहरी विकास तथा अनियन्त्रित सवारी साधनको पार्किङ अहिलेको मूख्य समस्या रहेको भन्दै मानविय चेतनाको विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

भक्तपुरलाई जाममुक्त, सुन्दर, सरुक्षित तथा समद्ध बनाउने यो अभियानको मूख्य उद्देश्य रहेको छ । अभियानलाई सफलतापूर्वक सम्पन्न गराउन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा संयोजन समिति समेत गठन भएको छ । जसमा प्रतिनिधिसभाका सांसद प्रमुख सल्लाहकार रहने र प्रदेश सभाका सांसद सल्लाहकार रहनुभएको छ । सदस्यमा चारवटै नगरपालिकाका प्रमुख तथा जिल्ला संयोजन समितिका प्रमुख रहनुभएको छ ।

त्यस्तै प्रमुख सेनानी शिवप्रसाद पौडेलको संयोजकत्वमा कार्यान्वयन समिति समेत गठन गरेको छ । जसमा सवै नगरपालिकाका उपमेयर सदस्य रहनुभएको छ । राजमार्गमा सुरक्षित अभियान अन्तर्गत प्रहरीले सवारी साधनको गति सिमित गरौं, बाँचौ र बचाऔं“ भनेर जनसमुदायलाई जागृत गराउनुका साथै चालकहरुलाई सवारी संचालन, सडक लेन पालना, कानूनी कारबाही लगायतका बारेमा जानकारी दिन प्रशिक्षण सहितको अभिमुखिकरण कार्यक्रम पनि संचालन गरिने भएको छ ।शान्ति, सुरक्षा, अमनचयन कायम राख्नका साथै समृद्ध भक्तपुर निर्माण गर्न जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा अभियान सञ्चालन हुने भएको हो ।