किरन धामी, दार्चुला ।
राष्ट्रकै सातौ धाम मालिकार्जुनको शैल्यशिखर धाममा जिल्लाकै ठुलो पुजन जात्रा बुधबार लागेको छ । नेपाल सरकारले हालै छनोट गरेको देशभरीका एक सय पर्यटकिय गन्तब्यमा परेको पर्यटकीय तिर्थस्थल शैल्यशिखर धाममा पुजन जात्रा लागेको मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्र सिह धामीले जानकारी दिए ।
मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकामा पर्ने शैल्यशिखर धाममा हरेक वर्ष असार शुक्ल चतुर्दशी तिथी र कात्र्तिक शुक्ल त्रयोदशी तिथिमा दुई पटक शैल्यशिखर पुजन जात्रा लाग्ने गर्दछ । हिन्दु धर्माबलम्बिहरुको आस्थाको धरोहर मानिने शैल्यशिखर धामको दर्शन गर्न विवाहीत महिला तथा ब्रतबन्ध गरेका पुरुषहरु दुई हप्ता अघि देखि नै शुद्ध भएर जाने प्रचलन रहिआएको छ ।
शिवलिगंको रुपमा परिचित शैल्यशिखर धाममा मालिकार्जुन तथा भागाश्री अर्थात शिव–पार्वतीको मुख्य बासस्थान रहेको जनविस्वास छ ।
शैल्यशिखर धाममा पवित्र मनले दर्शन गर्नाले सम्पुर्ण सम्पुर्ण पाप नष्ट भई पुण्य प्राप्ति हुने, मनोकामना पुरा निसन्तानीलाई सन्तान र सुख प्राप्त हुने जनविश्वास रहिआएको छ ।
शैलयशिखर धाममा पुजन जात्राको दर्शन गर्न जिल्लाका साथै बाहिरी जिल्लाका विभिन्न स्थानबाट तथा भारतको उत्तराखण्डबाट समेत दर्शनार्थीहरु आउने गरेको अध्यक्ष धामीले बताए । शैल्यशिखर पुजन जात्रापछि विहिबार ६ गते राती मालिकार्जुन मन्दिर मडमा भव्य जात्रा लाग्ने उनले जानकारी दिए ।
जिल्लाको लेकम क्षेत्रमा पर्ने राष्ट्रकै सातौ धाम मालिकार्जुन मन्दिरमा बालिचन र मालिकार्जुन देवताको बास रहेको छ । सरकारले २०६५ सालमा मालिकार्जुन मन्दिरलाई राष्ट्रकै सातौ धामका रुपमा घोषणा गरेको थियो ।











प्रतिक्रिया