गुल्मीका स्थानीय तहमा प्रबिधिको प्रयोगमा जोड

0
Shares

अनिल खत्री, गुल्मी ।
गुल्मीका स्थानिय तहले प्रबिधिलाई पछ्याउदै नयाँ प्रयोगको थालनी सुरु गरेका छन् । स्थानिय तह मध्ये जिल्लाको इश्मा गाउँपालिकाले विद्युतीय इ–हाजिरी सुरु गरेको छ । कर्मचारीलाई समयको पालना गराउँदै सेवालाई प्रभावकारी बनाउन इलेक्ट्रोनिक हाजिरी प्रयोगमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताए ।

गाउँपालिकाको कार्यालयसहित सवै वडा कार्यालय, स्वास्थ्यचौकी र सात माविमा इलेक्ट्रोनिक हाजिरी लागु गरिएको बस्नेतले बताए । स्थानिय तह मध्येकै धुर्कोट गाउँपालिकाले गाउँपालिकाको कार्यालय, धुर्कोट रजस्थल प्राथमिक स्वास्थ्य केन्द्र, ११ मावि र एक प्राविमा इलेक्ट्रोनिक हाजिरी सुरु गरेको छ ।

मदाने गाउँपालिकाले गाउँपालिका सहित ८ माविमा इलेक्ट्रोनिक हाजिरी शुरु भएको छ । यस बर्ष सवै वडा कार्यालय र स्वास्थ्य संस्थामा जडान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताए । मालिका गाउँपालिकाले पनि गाउँपालिका कार्यालय र सवै वडा कार्यालयमा इलेक्ट्रोनिक हाजिरी प्रयोगमा ल्याएको प्रशासन शाखा प्रमुख युवराज खड्काले बताए ।

चन्द्रकोट गाउँपालिकाको कार्यालयमा इ–हाजिर र गाउँपालिकामा आएका सेबा ग्राहिको र गाउँपालिकाको कार्यालयमा वहुमुल्य बस्तुहरुको सरक्षणको लागि सिसी क्यामरा पनि जडान गरिएको छ । प्रमुख प्रशासकीय अधिकृतको कक्ष, भ¥याङ्ग, सेवाग्राहीको चाप हुने स्थान र लेखा शाखामा क्यामेरा जडान गरिएको गाउँपालिका प्रमुख द्रोणबहादुर खत्रीले बताए ।

मुसिकोट नगरपालिकाले गत बर्ष नगरपालिका कार्यालय र नौ वडा कार्यालयमा इलेक्ट्रोनिक हाजिरी प्रयोगमा ल्याएको थियो । भने यो बर्ष नगरपालिकाका सवै बिद्यालय र स्वास्थ्य संस्था इलेक्ट्रोनिक हाजिरी शुरु गरिने नगर प्रमुख सोमनाथ सापकोटाले बताए ।

इलेक्ट्रोनिक हाजिरीले कर्मचारीहरुको उपस्थिती दर नियमित हुने भएकाले सेवाग्राहीहरुलाई सहज भएको छ । प्रविधी मार्फत मानिसलाई अनुशासन र समयको पालना गराउँदै सेवालाई छिटो छरितो बनाउन कार्यालयमा इ–हाजिरीको व्यवस्था गरिएको इश्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले बताए ।

जिल्लाको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा नगरपालिका, गुल्मी दरवार गाउँपालिका लगायत सवै गाउँपालिकाहरुले इ–हाजिरीको व्यवस्था गरि प्रविधिको प्रयोगमा जोड दिन थालेका छन् । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामा इ–हाजिरी, सिसि क्यामेरा सहित डिजिटल सूचना बोर्ड तथा सूचना पार्टी जडान सुरु गरिएको छ ।

ई–हाजिरी प्रयोगमा ल्याईसके पश्च्यात कार्यालयमा उपस्थित नभएर अर्को दिन हाजिर गर्ने, समयमा कार्यालय नआउने, कार्यालय समय अगावै घर जाने कर्मचारीहरु निरुत्साहित हुने र ति कर्मचारीहरु प्रत्यक्ष रुपमा गाउँपालिकाको निगरानीमा रहने इश्मा गाउँपालिकालेका सुचना प्रविधी अधिकृत बाबुलाल थापाले बताए । ई–हाजिरी प्रणालीमा कर्मचारी बिदा सिफारिस, बिदा स्विकृति, काज सिरफारिस, काज स्विकृति, सरुवा, रमानाहरु समेत अनलाईन मार्फत गरिने थापाले बताए ।