वाइड बडीमा अनियमितताको विषय समितिमा


काठमाडौं, (नेस)
सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमले खरिद गरेका दुईवटा वाइड बडी विमानमा अनियमितता भएको भनिएको विषयमा ले समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र निगमका उच्च पदस्थ अधिकारीलाई बोलाएर सो विषयमा जानकारी लिने निर्णय गरेको छ ।
त्यसैगरी विमान खरिदमा अनियमितता भएको विवरण सार्वजनिक गरेको महालेखा परीक्षकको कार्यालयबाट पनि वाइडबडी विमानका विषयमा तयार पारेका सबै फाइल समितिमा झिकाउने पनि समितिले निर्णय गरेको छ ।

लेखा समिति सदस्य मिनेन्द्र रिजालले वाइड बडी विमान खरिदमा अनियमिता भएको भए त्यसमा छानबिन गर्नका लागि आफ्नो पार्टीले जोडदार माग राखेको धारणा राख्नु भएको थियो । रिजालले आर्थिक अनियमिताका विषयमा प्रश्न उठाएपछि समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र निगमका उच्च पदस्थ अधिकारीलाई बोलाएर सो विषयमा जानकारी लिने निर्णय गरेको छ ।

विमान खरिदमा निगमले सार्वजनिक खरिद ऐन मिचेर आर्थिक अनियमितता गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । दुई ठँला विमान खरिद गरेकै कारण पछिल्लो समय निगमको वित्तीय स्वास्थ्य खराब हुँदै गएको देखिन्छ ।

त्यसैगरी समितिले राष्ट्रपतिका लागि १८ करोड रुपियाँमा किन्न लागिएको गाडीका विषयमा, तारागाउँ रिजेन्सी र कोशी करिडोर निर्माणमा भएको भनिएको आर्थिक अनियमितताबारे पनि विस्तृत छानबिन गर्ने जनाएको छ ।