२० रुपियाको खानेकुरा खाँदा २० हजार गुम्यो


नेपाल समाचारपत्र, बाँके
भारतमा एकजना नेपाली लुटिएका छन् । दिल्लीबाट रुपैडिहा आउने बसमा आएका बाँके बैजापुरका लालसिंह कुँवर लुटिएका हुन् ।
बसभित्र अपरिचित व्यक्तिले दिएको पिय पदार्थ खादा कुँवर लुटिएका हुन् । विहान रुपैडिहा बसपार्कमा अर्धबेहोस् अवस्थामा भेटिएका कुँवरलाई नाकामा रहेको जमुनाहा प्रहरीले उद्धार

गरेर उपचारका लागि भेरी अञ्चल अस्पताल, नेपालगञ्ज पठाएको छ ।
दिल्लीमा चौकीदार काम बताएका कुँवरको साथमा रहेको १३ हजार भारतीय रुपैया लुटिएको छ । नसालु पदार्थ मिसिएको पिय पदार्थ खुवाएपछि लुटेराले कुँवरको पाइन्ट काटेर पैसा लगेका छन् । अर्धबेहोस् अवस्थामा रहेका कुँवरको भेरी अञ्चल अस्पतालमा उपचार गरिएको छ ।

अर्धबेहोस् रहेका कुँवरले एकजनाले दिएको पिय पदार्थ खादा लुटिएको बताउनुभयो । लामो समयसम्म कहिले बोल्ने, कहिले निदाउने गरेका कुँवरलाई भेरीमा सलाइन पानी चढाएर राखिएको थियो । कुँवरको अर्को गोजीमा नेपाली र भारती गरी तीन हजारजति खुद्रा पैसा रहेको छ ।
भेरी अञ्चल अस्पतालमा पुगेका बाँके प्रहरी प्रमुख एसपी अरुण पौडेलले भारतीय भूमिमै लुटिएर नेपालीहरु आएकाले भारतीय समकक्षीसँग विषयमा कुरा गर्ने बताउनुभयो । ‘दशैं, तिहारमा कोही लुटिएनन्, अहिले नेपालीहरु लुटिएर आएका छन्, म भारतीय समकक्षीसँग यस विषयमा कुरा गर्छु, एसपी पौडेलले भन्नुभयो ।

दुई दिनअघि दैलेखका पूर्णबहादुर विष्ट बेहोस अवस्थामा रुपैडिहा आइपुगेका थिए । उनलाई प्रहरीले भेरीमा ल्याएर उपचार गरी छोराज्वाईको जिम्मा लगाएर पठाएको थियो । दुई वटा पुरानो झोला रहेको विष्टको एउटामा एक लाख ९५ हजार भारतीय रुपैया थियो । लुटेराले गोजी छामछाम गर्दा पैसा नपाएपछि छोडेर गएका थिए । चलाख विष्टले पैसा पुरानो झोलाको कपडाभित्र राखेकाले बचेको थियो । पुरानो झोलामा पैसा राखेर विष्टले लुटेरालाई समेत झुक्याइदिए ।

भारतका विभिन्न शहरबाट काम गरेर फर्किने नेपालीहरुलाई ‘कमाई’ घरसम्म पु¥याउन ज्यानकै बाजी थाप्नु पर्छ । भारतीयमात्रै नभएर नेपालीले नै नेपालीलाई लुट्ने गरेको पाइन्छ । घर सोध्ने र उसले घर ठेगाना भनेपछि छिमेकी ठाउँ बताई त्यहाँको आफू नै लुटेराले नेपालीलाई विश्वासमा लिने गरेको भुक्तभोगीहरु बताउँछन् ।

नाकामा इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज शिव ओलीले अपरिचित व्यक्तिले दिएको खानेकुरा खादा नेपालीहरु लुटिएर आउने गरेको बताउनुभयो । ‘नचिनेको मान्छेले दिएको खानेकुरा त नखाइदिए पनि हुन्थ्यो नि, नेपालीहरु चाडो विश्वासमा परेर खाइदिन्छन्, ओलीले भन्नुभयो, १०÷२० रुपैयाको खानेकुरा खादा आफ्नो साथमा भएको हजारौं रुपैया लुटाउँछन् ।’