गोल्डेन भ्यालिमै यो बर्ष ७० प्रतिशत सुन्तलाको उत्पादन घट्ने

0
Shares

गणेश घिमिरे, इलाम ।
‘गोल्डेन भ्याली’ भनेर चिनिने इलामको रोङ गाउँपालिका स्थित जिर्मले सलकपुरमा यो बर्ष सुन्तला उत्पादन घट्ने भएपछि किसान निराश भएका छन् । सुन्तलाको पकेट क्षेत्रको रूपमा चिनिएको सलकपुरमा गतवर्षको तुलानामा आधाले नै उत्पादन घट्ने किसानले बताएका छन् ।

मौसमी रोग, कीराको प्रकोप, सुन्तलाको चिचिला लागेको बेला असिना आउनु र कृषकलाई सुन्तलाको मलखाद र विषादी प्रयोगको ज्ञान नहुनुले पनि उत्पादन घट्ने निश्चित भएको कृषकहरु बताउँछन् । स्थानीय किसान टंक थापाका अनुसार ७० प्रतिशत सुन्तलाको उत्पादन घट्न सक्ने बताए ।

‘गतवर्ष १० लाख रुपैयाँमा विक्री भएका सुन्तलाका बगान यो वर्ष मुस्किलले पाँचलाख रुपैयाँमा मात्र बिक्री हुने अवस्था छ’ उनले भने ‘रोग नियन्त्रणको बारेमा सम्बन्धित निकायबाट पहल नहुँदा यो अवस्था आएको हो ।’ सुन्तला टिपेपछि यसमा आवश्यक मलखाद र रोग नियन्त्रणका लागि लगाईने विषादीको बारेमा जानकारी नभएको किसान बताउँछन् ।

पछिल्लो समय सुन्तलामा देखिएको सिट्रस ग्रिनिङ रोगका कारण सुन्तला टुप्पोबाट सुक्दै जाने, पात पहेंलिने र बोट नै पुरै सुक्ने समस्याले सुन्तलाको उत्पादन घटेको हुनसक्ने अर्का कृषक कुमार मोक्तानको भनाई छ । सलकपुरमा मात्र हैन यो बर्ष इलाम जिल्लामै सुन्तलाको उत्पादन घट्ने अवस्था देखिएको साबिक जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ ।

जिल्लाको सबैभन्दा बढि सुन्तला उत्पादन हुने इलामनगरपालिका, नामसालिङ्ग, सोयाङ्ग, गोदक लगायतका स्थानमा सुन्तलाको उत्पादनमा कमि आएको, दाना नै कम लागेको, बोट सुक्दै गएको तथा सुन्तलामा बिभिन्न किसिमका रोगको प्रकोप देखिएकाले उत्पादन घट्ने निश्चित नै भएको कृषि प्राबिधिक तथा किसानहरु बताउँछन् । कृषिको तथ्याङ्क अनुसार जिल्लामा तीनसय नौ हेक्टर क्षेत्रफलमा सुन्तला बगान रहेको छ । सुन्तलामा लाग्ने रोगलाई जोगाउनका लागि जिर्मलेका किसानले सुन्तलाको बोटमा नेट लगाउन थालेको अर्का किसान लाखमान तामाङले बताउनुभयो । उक्त नेट हाल १८ वटा बोटमा परिक्षणका लागि लगाइएको छ ।