प्रताप बानियाँ, म्याग्दी ।
मनोरम दृश्यावलोकनका लागि उपयुक्त पर्यटकीय क्षेत्र टोड्केमा पर्यटकहरुको चहलपहल बढ्दै जान थालेको छ । पश्चिम म्याग्दीको मंगला गाउँपालिका, बेनी नगरपालिका र उत्तरी रघुगंगा गाउँपालिकाको सिमानामा पर्ने टोड्केमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै गएको हो ।
तीनवटा स्थानीय तहको सङ्गमस्थलमा पर्ने पर्यटकीय क्षेत्र टोड्के मनोरम दृश्यावलोकनका साथै कृषि उत्पादन तथा धार्मिक हिसाबले पनि महत्वपूर्ण गन्तव्य मानिन्छ । समुन्द्री सतहदेखि झण्डै २ हजार चारसय मिटरको उचाइमा अवस्थित पर्यटकीयस्थल टोड्के आसपासको क्षेत्रबाट मनोरम हिमश्रृङ्खलाहरु आँखै अगाडि देख्न पाइन्छ । निकै आकर्षक, मनमोहक र सुन्दर दृश्य देखिने टोड्के पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गैरहेको छ ।

हालै मात्र स्थानीयको लगानीमा टोड्केमा सुविधासम्पन्न रिसोर्ट निर्माणको कामलाई अन्तिम चरणमा पु¥याइएको छ । साविकको पुलाचौर, कुहुँ र झीँ गाविसको सिमानामा पर्ने टोड्केमा पर्यटकहरुलाई लक्षित गर्दै नेपाल टेलिकम र एनसेलको टावर जडान गरी सञ्चालनमा ल्याइएको छ । केही समय पहिला मंगलाको कुहुँ, पूर्णगाउँ र रघुगंगाको झीँ गाउँबाट सडक सञ्जाल जोडिएसँगै टोड्के रिङरोड बनेपछि थप आकर्षणको केन्द्र बनेको छ । माघ र फागुन महिनामा लालीगुराँसले राताम्मे हुने टोड्केमा थप आकर्षण भेट्न सकिन्छ ।

टोड्केको प्रचारप्रसार र विकास गरी पर्यटक भिœयाउनका लागि बेलाबेलामा गुराँस महोत्सव तथा टोड्के महोत्सवको आयोजना गर्ने गरिएको टोड्के क्षेत्र विकास कोषले जनाएको छ । मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले टोड्केको विकासका लागि विभिन्न योजनाहरु बनाइएको बताउँदै टोड्केसम्म पुग्ने स्तरीय सडक निर्माण, भौतिक पूर्वाधार विकास र शान्ति सुरक्षालाई विशेष जोड दिइएको बताइन् । पर्यटकीयस्थलको भ्रमण गर्नका लागि टोड्के पुगेका म्याग्दी उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष राजेश शाक्यले जिल्लाका पर्यटकीय, धार्मिक तथा ऐतिहासिक क्षेत्रको प्रचारप्रसारका लागि ‘म्याग्दी भ्रमण वर्ष–२०७५’ घोषणा गरिएको बताएका छन् ।

पर्यटकीयस्थल टोड्केबाट धौलागिरि, अन्नपूर्ण, मानापाथी, निलगिरीलगायत मनोरम हिमश्रृङ्खलाहरु देखिन्छन् । विगत केही समययता टोड्केमा म्याग्दीसहित विभिन्न जिल्लाका साथै विदेशी पर्यटकहरु जान थालेका छन् । टोड्केको धुरीबाट म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै हिमाली जिल्ला मुस्ताङ र पर्वतको डाँडाकाँडा समेत देखिन्छ । पर्यटकीयस्थलको रुपमा रहेको टोड्केमा हेलिप्याड पनि रहेको छ ।

टोड्केमा पुग्ने पाहुनाहरुलाई स्थानीयले मुलाको चाना, धजरा र आलुका उत्पादन खुवाएर स्वागत गर्ने गरेका छन् । पर्यटकीय क्षेत्र टोड्केमा रहेको स्वर्गाश्रममा देशका विभिन्न जिल्लाबाट समय समयमा ऋषिमुनिहरु आएर तपस्या गर्दछन् । प्युठान जिल्लामा रहेको प्रसिद्ध स्वर्गद्वारी मन्दिरको शाखा मानिने टोड्केको स्वर्गाश्रम आसपासका क्षेत्रमा अन्य धार्मिक संरचनाहरुको पनि विस्तार गरिएको छ । स्वर्गाश्रमले समेत पर्यटकीय क्षेत्र टोड्केमा थप आकर्षण थपेको स्थानीयवासिन्दाको भनाइ छ ।











प्रतिक्रिया