श्रममन्त्री र अमेरिकी राजदूतबीच भेटवार्ता


काठमाडौं, (नेस)
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँग नेपालका लागि अमेरिकाका राजदँत रेन्डी बेरीले भेटवार्ता गर्नुभयो। उक्त भेटका अवसरमा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धका साथै परस्परिक सहयोग र सहकार्यका विविध पक्षमा छलफल भयो।

त्यसक्रममा मन्त्री विष्टले श्रम आप्रवासनका क्षेत्रमा विद्यमान समस्या एवम् चुनौतीको बारेमा चर्चा गर्दै मन्त्रालयबाट हालसालै अघि बढाइएका नीतिगत, संरचनागत एवम् प्रक्रियागत सुधारका सम्बन्धमा प्रकाश पार्नुभयो।
आन्तरिक रोजगारी नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको र मुलुकभित्र यथेष्ट मात्रामा आन्तरिक रोजगारीका अवसर सिर्जना नहुन्जेल वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्नेतर्फ सरकारको ध्यान केन्द्रित रहेको कुरा उल्लेख गर्नुभयो।

वैदेशिक रोजगारीका सम्बन्धमा हुने सबै प्रकारका ठगी, जालसाझी एवम् विकृति नियन्त्रणका साथै मानव बेचविखनका सम्बन्धमा नेपाल र अमेरिकी सरकारबीच समान धारणा रहेको विषय समेत चर्चा गरिएको थियो। कोलम्बो प्रोसेस र जीसीएम जस्ता अन्तर्राष्ट्रिय मञ्चको उपयोग गर्न सकिने विषयका बारेमा समेत छलफल भएको थियो।

उक्त भेटघाटका अवसरमा नेपालमा वैदेशिक लगानी भित्र्याउन अवलम्बन गरिनुपर्ने रणनीतिका सम्बन्धमा चर्चा गर्दै मन्त्री विष्टले अमेरिकी सरकारबाट निरन्तर सहयोग र सहकार्य हुने विश्वाय व्यक्त गर्नुभयो।

त्यसक्रमा राजदँत बेरीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वैदेशिक लगानी प्रवद्र्धन, मानव बेचबिखन नियन्त्रणलगायतका विषयमा सहयोग एवम् सहकार्य गर्न अमेरिकी सरकार तत्पर रहेको बताउनु भएको थियो।