एकादशी मेलामा धार्मिक सहिष्णुता


नेपाल समाचारपत्र, हेटौंडा
मकवानपुरको थाहानगर दामनस्थित ऋषेश्वर महादेव मन्दिरमा एकादशी मेला लागेको छ । थाहानगरलगायत मकवानपुर, धादिङ, चितवन, काठमाडौं, बारा, पर्सा, काभ्रेबाट समेत हजारौंको संख्यामा श्रद्धालु भक्तजन मेला भर्न आएका थिए ।

मन्दिरपरिसरमा बाबियोको डोरीमा फुलपाती राखेर ‘फूल तार्ने’ प्रचलन छ । ऋषेश्वर महादेवको दर्शन गरे मनले चिताएको पूरा हुने र छोरा मागे पाइने विश्वास छ । पहराबीच महादेवले त्रिशुल घोप्दा पानी निस्किएको किम्बदन्ती छ । हिन्दुको आराध्यदेव महादेव तथा बौद्ध समुदायको आस्था गुरु रिम्पोक्षेले तपस्या गरेको स्थान पनि यही स्थानमा पर्छ ।

त्यहाँ हिन्दु र बौद्ध दुवै समुदायका भक्तजन मेलामा सहभागी हुने गरेका छन् । मन्दिरले धार्मिक सहिष्णुता प्रदर्शन गर्दै आएको छ । चर्चित ऋषेश्वर महादेव मन्दिर प्राकृतिक छटाले भरिपूर्ण, विभिन्न हिमशृङ्खलाका सुन्दर दृष्य अवलोकन गर्न सकिने, स्वदेशी तथा विदेशी पर्यटकको शान्त पर्यटनस्थल हो ।

२ हजार २ सय ५० मिटर उचाईंमा रहेको दामन भौगोलिक तथा साँस्कृतिकरुपले प्रकृतिको सुन्दर उपहार हो । त्रिभुवन राजपथअन्तर्गत् पर्ने मन्दिर सडकखण्डबाट पौने घण्टाको पैदल यात्रापछि पुग्न सकिन्छ ।

ठूलो एकादशीको अवसरमा मकवानपुरका दुई गाउँपालिकाका मन्दिरहरुमा मेला लागेको छ । हरिबोधनी एकादशीका अवसरमा भीमफेदी गाउँपालिकाको भैंसेमा रहेको त्रिखण्डी मन्दिर र मकवानपुरगढी गाउँपालिकाको गढी दरबारभित्र रहेको मन्दिरमा एकादशी मेला लागेको हो ।

मेलाका अवसरमा विहान झिसमिसेदेखिबाट साँझ अबेरसम्म पनि भक्तजनको भिड लागेको थियो । भेला भर्न आउने र पूजा गर्नेहरुको भिड लाग्यो । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन भगवान विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरिँदै आएको छ ।

यस अवसरमा त्रिखण्डी र गढीमा मेला लागेको हो । एकादशीमा मानिसको भिड हुने भएकोले मकवानपुर प्रहरीले सुरक्षा ब्यबस्था कडा पारेको थियो ।