हेटौंडा ।
फिलिपिन्सकी राजकुमारी मारिया लियोन टोरिसर्सले नेपालप्रति आफ्नो अगाध माया रहेको बताउनुभएको छ । उहाँले नेपालको सुन्दरताले विश्वमै चर्चामा रहेकोले नेपाल आउन धेरै मानिसले चाहना गर्ने गरेको बताउनुभयो ।
नेपाल आउन पाएको र यहाँका मानिससँग हेलमेल गर्न पाएकोमा आफू खुशी भएको भन्दै उहाँले यहाँका मानिसले गर्ने हरेक खालका काममा आफ्नो तर्फबाट सहयोग हुने वचन दिनुभयो ।
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–८, सिमपानीस्थित पिसपार्कमा आयोजित कार्यक्रममा उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । उहाँलाई मनहरी बजारबाट पिसपार्कसम्म पञ्चैबाजासहित झाँकी र ¥याली गरी स्वागत गरिएको थियो ।
कार्यक्रममा थाइल्याण्डकी शान्तिदुत अपिनिता चाइचानले आफूले नेपालमा आमा, बुबा, दाजुभाइ र दिदीबहिनी पाएको भन्दै खुशी व्यक्त गर्नुभयो । ३ नम्बर प्रदेश सभामुख सानुकुमार श्रेष्ठले मनहरीमा निर्माण भएको पिसपार्क हेर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्दै मनहरीबासीले गरेका राम्रो कामप्रति धन्यबाद दिनुभयो ।
प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले आफूले त्यस क्षेत्रको समाजसेवामा लगानी गरेको दाबी गर्दै पिसपार्क निर्माण कार्यलाई आर्थिक अभावले रोक्न नहुने बताउनुभयो । उहाँले आवश्यक पर्दा आफूले रकम सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा सांसद्हरु मुनु सिग्देल र ओमबहादुर घलानलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमअघि राजकुमारी मारियाबाट पिसपार्कभित्र निर्माण भएका बुद्धको मूर्ति, ध्यानकेन्द्र, गोलघरहरुको उद्घाटन गर्नुभएको थियो । सोही क्रममा मनहरी–८ स्थित टासी छोइलिङ गुम्बाको समेत मारियाले अवलोकन गर्नुभएको थियो ।
मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको सभाध्यक्षतामा भएको कार्यक्रममा पिसपार्क निर्माणका लागि सहयोग गर्ने समाजसेवी, दाताहरु, युवा, विद्यार्थी तथा व्रह्मकुमारी राजयोग सेवा केन्द्रमा समर्पित ज्येष्ठ नागरिकको उपस्थिति थियो ।
मनहरीमा ‘आमा प्रोजेक्ट’ थालिएको छ । पश्चिम क्षेत्रमा एक सुन्दर, सुविधासम्पन्न एवम् मनोरञ्जनपूर्ण पिसपार्क, पोखरी, पुस्तकालय, वाल उद्यानलगायत सेवा उपलव्ध गराउने उद्धेश्यले जिल्ला बन कार्यालय, सिमपानी देबकोट बन उपभोक्ता समिति तथा व्रह्माकुमारी राजयोग सेवा केन्द्र हेटौंडाको संयुक्त प्रयासमा निर्माण शुरु गरिएको छ ।
जीवनलाई सात्विक जीवन शैलीमा रहन चाहने, ईश्वरीय दिनचर्यामा आफ्नो बाँकी जीवन समाहित गर्न इच्छुक, स्वतन्त्रपूर्वक रहन चाहने आमाहरुलाई त्यहाँ सहजतापूर्वक रहने वातावरण निर्माण गर्न आमाहरुलाई बस्ने घर निर्माण गरिने छ । १ सय ७ वर्षीया कृष्णकुमारी घिमिरेले प्रोजेक्ट शिलान्यास गर्नुभएको थियो ।
स्थानीयको प्रत्यक्ष सहयोगमा सञ्चालित प्रोजेक्टअन्तर्गत् एक वर्षमा सुविधासम्पन्न भवन निर्माण भइसक्ने बताइएको छ । हाललाई ५० जना आमा र पछि सय जनासम्मको उचित व्यबस्थापन गरिने छ ।
हाल एक तला भवन निर्माणका लागि भारतको पटना निवासी अनिता सिंहले लगानी गरिदिने प्रतिवद्धता जनाउनुभएको छ । मनहरीकी पवित्रा उप्रेतीले प्रोजेक्टका लागि जमिन उपलव्ध गराउनुभएको छ ।











प्रतिक्रिया