आर्थिक कार्यविधि ऐन ल्याउने सरकारको तयारी


नेपाल समाचारपत्र, काठमाडौं
अर्थमन्त्री डा. युवराज खतिवडाले सरकार केही समयभित्रै आर्थिक कार्यविधि ऐन ल्याउने तयारीमा रहेको बताउनुभएको छ ।

आइतबार राजधानीमा आयोजित सार्वजनिक वित्तीय व्यवस्थापन सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीलाई उद्घाटन गर्नुहुँदै अर्थमन्त्री खतिवडाले उक्त कुरा बताउनु भएको हो ।

सञ्चितकोष वा सरकारी कोषको सञ्चालन, बजेट तर्जुमा, निकासा तथा खर्च गर्ने, लेखा राख्ने, आन्तरिक नियन्त्रणको व्यवस्था मिलाउने, लेखा परीक्षण, बेरुजु फछर्यौट तथा असुल तहसिल गराउने जस्ता आर्थिक गतिविधिहरु नियमित तथा व्यवस्थित रुपबाट सञ्चालन गर्न कार्यविधि ल्याउन लागिएको खतिवडाको भनाइ छ ।

‘दातृ निकाय र करबाट जम्मा गरिएको रकम दुरुपयोग हुन नदिन तथा आर्थिक अनुशासनको कडाईका साथ पालना गर्नुपर्ने आवश्यकता महशुस गरेर सरकारले उक्त ऐन ल्याउन लागेको हो ।’ खतिवडाले भन्नुभयो ।

वित्तीय संघीयता पँर्ण रुपमा कार्यान्वयनमा आएसँगै हरेक तहमा हुने आर्थिक कारोबारको आन्तरिक नियन्त्रणको व्यवस्था मिलाउन, आन्तरिक तथा अन्तिम लेखापरीक्षण, बेरुजु फछर्यौट र असुलउपर गर्न आर्थिक कारोबारलाई व्यवस्थित र जवाफदेही बनाउन ऐन आवश्यक रहेको उहाँको भनाइ छ ।

अर्थमन्त्री खतिवडाले भन्नुभयो–‘तीनवटै तहका सरकारले गर्ने काम कारबाहीमा वित्तीय जवाफदेहीता सुनिश्चित हुने गरी आर्थिक कार्यविधि ऐन ल्याउन लागिएको हो । वित्तीय व्यवस्थापनका लागि मात्र नभई बजेटमा मितव्ययिता, जवाहदेहीता र त्यसको अधिकतम् उपयोगका लागि यो आवश्यक पनि छ ।’

वित्तीय संघीयता कार्यान्वयन सहज ढंगले अघि बढिरहेको बताउनु हुँदै अर्थमन्त्री डा. खतिवडाले त्यसको सफल कार्यान्वयनका लागि तीनवटै तह उत्तिकै जिम्मेवार रहेकोसमेत बताउनुभयो । संकलित करको रकम दुरुपयोग हुन नदिनसमेत उहाँले सबै निकायलाई सचेत गराउनुभएको छ । पछिल्लो समय आर्थिक कारोबारलाई पारदर्शी बनाउन सरकारले सबै निकायमा विद्युतीय भुक्तानी कारोबार प्रणाली लागू गर्ने कामलाई तीव्रता दिएको अर्थमन्त्री खतिवडाको भनाइ छ ।