कथित पञ्चले कानुन हातमा लिएपछि…


कृष्णउदास खनाल, वीरगन्ज
पर्साको एक गाउँमा केही समाजमा कथित अगुवा भनिएकाहरुबाट कानुन हातमा लिने कार्य भएको छ ।

जिल्लाको जीराभवानी गाउँपालिका–१ महादेवपट्टिमा कथित पञ्चको निर्णयबाट एकजना युवकलाई मोबाइल चोरीको अभियोगमा कपाल मुडुलो गरी दुव्र्यवहार गरिएको हो । महादेवपट्टिस्थित पिपराटोलका १७ वर्षीय युवक विक्रम महतोलाई पञ्चायतको निर्णयबाट कपाल मुडुलो गरी जुत्ताको माला लगाएर गाउँ परिक्रममा गरी उनको सामाजिक मानमर्दन गरिएको स्थानीय शिक्षक ओम प्रकाश चौधरीले जानकारी दिए ।

स्थानीय मणिलाल साहको घरबाट मोबाइल चोरी गरेको अभियोग प्रमाणित भएपछि उनीविरुद्ध बसेको पञ्चायतले शनिबार यस्तो निर्णय गरेको हो । पञ्चायतको निर्णयबाट युवक महतोको कपाल मुडुलो गरी जुत्ताको माला लगाएर सार्वजनिकरूपमा दुव्र्यवहार गरिएको थियो । पञ्चायतीमा गाउँका १० जनाभन्दा बढी कथित गणमान्य व्यक्ति सहभागी रहेको बताइएको छ ।

दुव्र्यवहार हुने युवक महतोले प्रहरीमा मौखिक उजुरी गरेपछि पञ्चायती गर्ने १० जना फरार भएको पर्सा प्रहरीले बताएको छ । प्रहरीले उनीहरूको खोजी गरिरहेको छ । सामाजिक सुरक्षा ऐन अनुसार कुनै पनि व्यक्तिलाई दुव्र्यवहार गर्ने अधिकार छैन ।

पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले दुव्र्यवहार गर्ने कार्यमा संलग्न पञ्चहरूको खोजी भइरहेको बताए । यद्यपी स्थानीय केही ब्यक्तिहरुले महतोलाई मिलापका लागि भन्दै दबाब दिएर एक कागज समेत बनाएको स्थानीयहरुले जानकारी दिएका छन् ।