छोराको हत्यारालाई कारबाहीको माग गर्दै ६२ वर्षीया वृद्ध


विजय नेपाली, पोखरा
कपाल फुलेको अनि ढाकाको पछ्यौरी टाउकोमा बाँधी, कालो ब्याग भिडेर हात जोड्दै आँखाभरि आँसु लिएर हरेक दिनजसो प्रहरी चौकी अगाडि भेटिन्छन ६२ वर्षीया एक वृद्धा ।

उनको आँसु र पीडा पोख्ने ठाउँ बनेको छ जिल्ला प्रहरी कार्यालय कास्की ।
चप्पल खियाउदै न्यायको ढोका ढकढक्याउदा उमेर समेत ढल्किएको छ । एउटा आमाको ममता कतिसम्म हुदो रहेछ त आफ्नो छोराको हत्यारालाई कानुनको कठघरामा ल्याउन न्याय मागेको पनि करिव ५ वर्ष वित्न लागि सकेको छ । उनको कुरा प्रहरिले सुनेको नसुने झै गरेको छ । आखिर कहानेर चुक्यो प्रहरी ? तर पनि उनी हार नमानी अझै धाउँछिन चौकी ।

६२ वर्षिय विष्णुकुमारी पाण्डेको बुढेसकालको साहारा नै नभए पछि उनी दिनरात छटपटिन्छिन । आफुले न्याय पाउने आसमा छोराको शवको चार वटा तस्विर लिएर लडिरहेकी छिन ।

छोराले साहारा दिने सपना देखेकी विष्णुकुमारिको सपना २०७१ सालमा टुट्यो । ०७१ साल फागुन ५ गते शिबरात्री मनाउन घरबाट निस्केका २३ वर्षिय छोरा सुर्य पाण्डे ६ गते नया बजार राम मन्दिर पछाडी सेतीनदि पुलमुनि मृत भेटिए अनि त उनको सपना सबै हराए । तत्कालिन जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता केदार रजौरेले पोस्टमार्टम रिपोर्ट अनुसार बजारिएर मृत्यु भएको बताएपनी मृतकको शरीरभरि चोट देखेको कारण परिवारले रहस्यमयी तरिकाले हत्या भएको हुन सक्ने बताएका थिए ।

प्रहरिले दिएको प्रतिवेदन प्रती परिवार असहमति भए । छोराको हत्या भएको भनी परिवारले जाहेरी समेत दिए । छोराको हत्या भएको चार वर्ष वितिसक्दा समेत प्रहरिले सत्य तथ्य पत्तालगाउन नसकेको आमा विष्णुकुमारिले बताइन ।

मानवअधिकार आयोग, वकिल, महिला सङ्गलगयत हरेक क्षेत्रमा न्यायका निमित्त धाए पनि उनको कुरा अझै पनि दबिएर रहेको छ । प्रहरिले अनुसन्धान निकै फितलो गरि घटना लुकाएको उनको आरोप छ । रुदै भन्छिन “म यहि चौकी अगाडि मर्ने छु, मेरो छोरा मारेकालाइ किन समाउदैन प्रहरी, म जहिले आउदा पनि धपाउछन, उल्टै तेरो छोराको हत्यारालाई समातेर ल्याइ पुरस्कार दिन्छु भन्छ्न“ चार छोरा मध्ये मृतक सुर्य साइला हुन ।

“एउटा सामान्य मोबाइल हराउदा त छिटै भेटिन्छ, मेरो छोराको हत्यारा किन अहिले सम्म भेटिएन?? जहिले आउदा पनि खोजी गर्न लागेको मात्र भन्छन खोज्ने चै कहिले? उनले गुनासो पोखिन । छोराको अनुहार भरी चोट छ, चौकी नजिकै घटना भएको हो, प्रहरिले अनुसन्धान गर्न चासो नदेखाएको उनको आरोप छ । आफुलाइ छोराको हत्यारा पत्ता लगाउनभनी किटानी दिन आउदा उल्टै चुप लागेर बस्न भनेको उनले बताइन ।

चार वर्ष देखि लगातार न्यायको निमित्त कानुनको सहायता लिन आउदा समेत उनले उचित न्याय पाउन सकेकी छैनिन । प्रहरिले भिर बाट लडेर मृत्यु भएको बताए पनि परिवारले भने हत्या भएको बताएका छन । सुर्यको मृत्युु भएको दिन राती सोही ठाउमा झगडा भएको उनले बताइन । “ यदि मेरो छोरा भिर बाट खसेर मरेको भए अनुहारमा चोट कसरी लाग्यो, धारिलो हतियारले प्रहार गरेको र शरिरमा डाम नै थियो मैले न्याय कहिले पाउने“ आँसु झार्दै उनले भनिन । शंका लागेका केही व्यक्तिलाइ किटानी जाहेरी दिए पनि प्रहरिले बेवास्ता गरेको परिवारको भनाइ छ ।

प्रहरिले यसबारे नया तरिकाले लागि परेको जिल्ला प्रहरी कार्यालय कास्किका प्रवक्ता रबिन्द्रमान गुरुङ्गले बताए । फोन वार्तामा बोल्दै उनले “ हामिले यश बारे अनुसन्धान अघि बढाएका छौ, घटनाको सत्य तथ्य बाहिर ल्याउने छौ“ उनले बताए । घटना बारे भित्री रुपमा अनुसन्धान हुने बताए ।

मृतक सुर्य मोटरसाइकल मिस्त्रीको काम गर्दै आइरहेका थिए । प्रहरिले चार वर्ष सम्म पनि घटनाको बारेमा अनुसन्धान नगर्नु आफैमा एउटा प्रश्न छ । प्रहरिले पिडितको कुरा आलटाल गर्दा पिडित परिवारलाइ थप पीडा परेको छ ।

सो घटनाको अनुसन्धानमा तत्कालिन प्रवक्ता केदार रजौरे, प्रहरी निरीक्षक देवि प्रसाद पौडेलले लगायत रहेका थिए ।