राम धामी, डडेल्धुरा
कुनै समय दुलर्भ वन्यजन्तुहरुको बासस्थानका रुपमा चिनिने डडेल्धुरा जिल्लाको भित्रिमधेस क्षेत्रमा अनियत्रित ढंगबाट वन विनास हुन थालेपछि पछिल्ला बर्षहरुमा वन्यजन्तु देखिन छाडेका छन् ।
जैविक विविधताका दृष्टिले अति संवेदनशील चुरे क्षेत्रको अति दोहनले दुर्लभ वन्यजन्तुको बासस्थान उजाडिँदै गएको हो । चुरे क्षेत्रको वन विनासका कारण जैविक सन्तुलन खल्बलिएको र जनजीवन प्रभावित बन्न थालेको स्थानीय बताउछन । दिनप्रतिदिन चुरे क्षेत्रको वन उजाडिँदै गएपछि जीवजन्तु सङ्कटमा परेका छन् भने उनीहरुको बासस्थान पनि जोखिममा परेको छ । मानवीय चाप, जल जमीन र जङ्गलको दोहनले पर्यावरणीय सन्तुलनसमेत खल्बलिएको र पानीका मुहान सुक्दै जाँदा बस्तीनै सार्नुपर्ने अबस्था सिर्जना भएको परशुराम नगरपालिका–७ बड्डीमलासका बासिन्दा नरबहादुर जाग्रीले बताए ।
राष्ट्रिय प्रकृति संरक्षण कोषले गरेको अध्ययनअनुसार चुरे क्षेत्रमा गाईवस्तु चराउने, असन्तुलित रूपमा वन पैदावार निकासी हुने, वन अतिक्रमणजस्ता समस्या भेटिएका छन । राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यक्रम संयोजक डा. नरेश सुवेदीले अध्ययनका क्रममा चुरेको माटो मात्रै होइन, जैविक विविधताका हिसाबले पनि संवेदनशील रहेको पाइएको बताए । “चुरे क्षेत्रमा माटो र जलाधारसँगै वन्यजन्तुको बासस्थान जोगाउन पनि लाग्नुपर्र्छ ।” उनले भने ।
देशका सबै चुरे क्षेत्र समेटेर गरिएको यो पहिलो अध्ययन हो । यसअघि संरक्षित क्षेत्रका चुरेको मात्रै अध्ययन भएको थियो । उनका अनुसार जहाँ क्यामेरा राख्यो, त्यहाँ धेरै मान्छे र बाख्रा कैद हुनु विडम्बना छ । सरकारले ल्याएको राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अति महत्वपूर्ण भएकाले चुरेमा बस्ने वन्यजन्तुको क्षेत्रमा समेत काम गर्नु जरुरी रहेको अध्ययनले देखाएको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ ।
संरक्षित क्षेत्र बाहिरको चुरेमा समेत बाघ, हात्ती, चितुवा, भालु, विभिन्न सर्प र बिराला प्रजाति, पुतली तथा अन्य लोपोन्मुख प्रजाति भेटिएको छ । राष्ट्रिय बाघ गणनामा बाघ नभेटिएको स्थानमा समेत बाघ पाइएको अध्ययन टोलीले जनाएको छ । राष्ट्रपति चुरे तराई–मधेश संरक्षण समितिको आर्थिक सहयोगमा राष्ट्रिय प्रकृति संरक्षण कोषले चुरेमा वन्यजन्तुको चरिचरणको अवस्था पत्ता लगाउन सर्वेक्षण थालेको थियो । क्यामेरा ट्रापिङलगायत अन्तर्राष्ट्रिय अध्ययन विधिअनुसार चुरेको अध्ययन भइरहेको छ ।
अध्ययनमा चार सय क्यामेरा प्रयोग गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, विभिन्न निकुञ्ज, त्रिभुवन विश्वविद्यालय, वन विभागका विज्ञसहितको टोली सर्वेक्षणमा सहभागी छन् । अध्ययनको अन्तिम प्रतिवेदन भने आगामी माघसम्ममा सार्वजनिक गर्ने योजना छ । नेपालका ३७ जिल्लामा चुरे फेलिएको छ । चुरे पहाड एक हजार आठ सय ७२ मिटरको उचाइसम्म फैलिएको छ । पश्चिमदेखि कोशी नदीसम्म महाभारत पर्वतको समानान्तर भएर फैलिएको चुरे महाभारत पर्वतको तल्लो भाग र तराईको समथर भागदेखि माथिल्लो भागमा अवस्थित छ ।
चुरेले नेपालको कूल भूभागको झण्डै १३ प्रतिशत ओगटेको छ । चुरेमा १२ प्रकारका पारिस्थितिक प्रणाली एक हजार पाँय सय ७० भन्दा बढी प्रकारका फूल, वनस्पतिहरु रहेको तथ्याङ्क छ । अतिक्रमण र बाढी–पहिरोका कारण क्षति पुग्दै आएको चुरे क्षेत्रलाई जलाधार क्षेत्रको रूपमा विकास गरिनु पर्ने परशुराम नगरपालिका–७ का वडाध्यक्ष केशब बोहराले बताए । परशुराम नगरपालिकाका नगरप्रमुख भिमबहादुर साँउदले चुरे क्षेत्रको संरक्षण सम्वद्र्धनका लागि योजनावद्ध रुपमा पहल थाल्ने जानकारी दिए ।
प्रतिक्रिया