भारतद्वारा तीन शैक्षिक संस्थाको निर्माण


नेपाल समाचारपत्र, काठमाडौं
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले १ गते शनिबार लेखनाथ नगरपालिकास्थित श्री सरस्वती टीका उच्च माध्यमिक विद्यालयको उद्घाटन गर्नुभयो । उक्त उद्घाटन समारोहमा भारतीय दूतावासका मिसन उप(प्रमुख डा. अजय कुमार पनि सहभागी हुनुहुन्थ्यो । उहाँले पनि श्री लक्ष्मी आदर्श महुमुखी क्याम्पस र श्री गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको उद्घाटन गर्नुभयो ।

राष्ट्रिय परीक्षा बोर्डसँग आबद्ध सरस्वती टिका उच्च माध्यमिक विद्यालयले १०+२ तहका विभिन्न कार्यक्रम प्रदान गर्दै आएको छ । कास्कीको प्रतिष्ठित उक्त विद्यालयले त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । सो विद्यालयमा अध्ययनरत झण्डैै ११०० विद्यार्थीमध्ये ४५ प्रतिशत छात्रा छन् ।

त्रिभुवन विश्वविद्यालयसँग आबद्ध रहेको लक्ष्मी आदर्श बहुमुखी क्याम्पसले शिक्षा संकायमा स्नातक तहसम्म चारवर्षे पूर्णकालिन कार्यक्रम एवं १०+२ तहमा व्यवस्थापन, शिक्षा र मानविकी संकायमा पनि सेवा प्रदान गर्दछ । यस क्याम्पसमा ४ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमध्ये ८५ प्रतिशत छात्रा रहेका छन् ।

गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालयसँग आबद्ध रहेका एक गैरनाफामूलक प्राज्ञिक संस्था हो जसले बि.एड., बिबिएस र एमबिएस संकायमा सेवा प्रदान गर्दछ । सन् २०१८को शैक्षिक सत्रदेखि यस क्याम्पसले बिएचएम र बिआईएम संकायमा पनि अध्यापन शुरु गरेको छ । यस क्याम्पसमा ४ सय १८ जना विद्यार्थी अध्ययनरत छन् जसमध्ये ८० प्रतिशत छात्रा रहेका छन् ।