भुकम्पको ४४ महिना, चिसोले काँप्दै प्रहरीको सेवा

0
Shares

हेटांैडा ।
मंसिर लाग्यो, त्यहाँ चिसो झन् बढ्दैछ । स्थानीयले त जसोतसो आफ्नो व्यबस्थापन मिलाएका छन् । तर, प्रहरी भने ४४ महिनादेखि हेरोकोहे¥यै छ ।

मकवानपुरको चिसो उत्तरी क्षेत्र सीमभञ्ज्याङमा रहेको प्रहरी चौकी भुकम्प गएको ४४ महिना बित्दा पनि पुनर्निर्माण हुन सकेको छैन । २०७२ वैशाख १२ गतेको भुकम्पले प्रहरी चौकी रहेको भवन भत्किएपछि शान्ति सुरक्षाका लागि खटिएका प्रहरी हालसम्म पनि टेन्टमै बस्न बाध्य रहेका हुन् ।

प्रहरी कार्यालय पालुङ मातहतमा पर्ने थाहानगरमा रहेको उक्त चौकी पुनर्निर्माण हुन नसक्दा प्रहरीले पालमै बसेर २४ घण्टे सुरक्षा दिइरहेको सीमभञ्ज्याङ प्रहरी चौकीका हवल्दार सुमन ढकालले गुनासो गर्नुभयो ।

चौकी पुनर्निर्माण नहुँदा कुनै आपराधिक क्रियाकलापमा संलग्न (थुनुवा) लाई राख्ने ठाउँसमेत नभएको प्रहरीको गुनासो छ । तत्काल थुनुवा राख्ने ठाउँ नहुँदा कुनै घटनामा संलग्न अभियुक्तलाई पालुङ इलाका प्रहरी कार्यालय लैजानुपर्ने वाध्यात्मक परिस्थिति रहेको प्रहरी भनाइ छ ।

चौकीमा कार्यरत् प्रहरी भन्छन्–राति शीत चुहिने, चिसो हुने भएपछि प्रहरीको काम गर्ने मनोबलमा समेत असर परेको छ । टेन्टमुनि बासमा प्रहरीले ज्यादै कष्टपूर्ण ड्युटी गर्दै आएका छन् । एउटा टेन्टभित्र ६ जनासम्म सुत्नुपर्ने तथा आफ्नो सामान राख्दा साँघुरो भएर धेरै कष्ट भएकोे प्रहरीको गुनासो छ ।

एउटा टेन्टमा कार्यालय राख्नेदेखि सुत्नेसम्म कार्य गर्नुपर्ने बाध्यता रहेको प्रहरीले गुनासो गरेको छ । सीमभञ्ज्याङ क्षेत्रमा सुरक्षाका लागि रहेको प्रहरी चौकी हालसम्म पनि पुनर्निर्माण हुन नसक्नु निकै विडम्बनापूर्ण रहेको ढकालले बताउनुभयो । पर्यटकीय क्षेत्र सीमभञ्ज्याङमा सुरक्षाका लागि रहेको प्रहरी चौकी भवन निर्माण हुन नसक्नु चिन्ताको विषय भएको उहाँको भनाइ छ ।

ठिंगन इलाका प्रहरी कार्यालयको पनि हालत उस्तै छ । भाडामा बस्दै आउनुपरेको बाध्यता त छँदैछ, त्यसमाथि चर्किएको र चुहिएको भवनबाट नागरिकलाई सुरक्षा दिइरहेको कार्यालयका प्रहरी सहायक निरीक्षक विकास केसीले बताउनुभयो । कार्यालयमा २९ जनाको दरबन्दी छ । तर, हाल १० जना प्रहरीमात्र रहेको उहाँले बताउनुभयो । ‘१० जनालाई पनि भाडाको घरमा बस्न समस्या छ,’ केसीले गुनासो गर्नुभयो ।

हेटौंडा–४ को वडा प्रहरी कार्यालयमा ९५ जनाको दरबन्दी छ । तर, त्यहाँ ५० जनामात्र छन् । भाडामा रहेको कार्यालयमा ५० जना प्रहरी अट्ने क्षमता नरहेका कारण हाल ६ जना प्रहरी पशुपति मन्दिरको सभाहलमा बस्दै आएका छन् । त्यहाँ प्रहरीलाई शौचालयसहित अन्य समस्या भएको प्रहरी सहायक निरीक्षक अरुणकुमार झाले बताउनुभयो ।

मकवानपुरमा ४९ वटा प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालय छन्, जसमा १६ वटा भुकम्पले क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी सहायक निरीक्षक रुपक थापाले जानकारी दिनुभयो ।

भुकम्पले क्षति भएका भवन मर्मत गरेर सोही भवनमा कार्यालय सञ्चालनमा ल्याइएका आठ वटा र भुकम्पले क्षति भएर कार्यालय भवन हाल बस्न नमिलेकाले सरकारी भवन तथा अन्यन्त्र भाडामा रहेका आठ वटा रहेको प्रसनि थापाले बताउनुभयो ।

प्रहरी कार्यालय ६ वटा भाडामा र एउटा त्रिपालमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । भुकम्पको कारण भत्किएका चौकीहरु एउटा पनि पूर्ण नभएको जिल्ला प्रहरीको तथ्यांकमा छ ।