सरकारी स्तरबाट पहिलो पटक जोलजिविमा मेला


किरन धामी, दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ मा पर्ने जोलजिविमा पहिलो पटक सरकारी स्तरबाट ऐतिहासिक जोलजिवि मेला महोत्सवको आयोजना गरिएको छ ।

भारत तर्फ संधै सरकारी स्तरबाट आयोजना हुँदै आएको जौलजिवि मेला नेपाल तर्फ भने सरकारी स्तरबाट आयोजना गरिएको यो पहिलो पटक हो । भारतको जौलजिविमा हरेक वर्ष नोभेम्बर १४ तारिखका दिन देखी सुरु हुने मेला करिव १०÷१२ दिन सम्म लाग्ने गर्दछ । जौलजिवि मेला व्यापारीक दृष्टिकोणले महत्वपुर्ण मानिन्छ । जौलजिवि मेलामा ठुलो संख्यामा व्यापारीहरु तथा स्थानीयहरु आउने गर्दछन् ।

नेपाल तर्फ गत विगतका वर्षहरुमा जैलजिवि मेलाको समयमा केहि पसलहरु मात्रै राख्ने गरिन्थ्यो । व्यापारिक तथा पर्यटकिय दृष्टिकोणले अति महत्वपुर्ण मानिने जौलजिवि मेला आयोजनाका लागी स्थानिय सरकार मालिकार्जुन गाउँपालिकाले ठुलो लगानी गरेको छ, भने मेला महोत्सव आयोजनाले गाउँपालिका भित्र रहेका पर्यटकिय, ऐतिहासिक धार्मिक स्थलहरुको प्रचार प्रसार हुनुका साथै आन्तरिक तथा बाह्य पर्यटक भित्रिने अपेक्षा राखेको छ । गाउँपालिका भित्र शैल्यशिखर धाम, उकु महल भग्नावशेष, राष्ट्रकै सातौ धाम मालिकार्जुन मन्दिर पर्यटकिय स्थलका रुपमा रहेका छन् ।

मालिकार्जुन गाउँपालिकाका पर्यटकिय गन्तब्यको पहचिान गरि पर्यटनको विकास गर्ने, स्थानिय कला संस्कृतिको संरक्षण तथा सम्र्वद्धन र विकास गर्ने, स्थानिय व्यापार व्यवसाय, कृषि जन्य उत्पादनको प्रर्वद्धन गर्ने, नेपाल भारत र चिनको साझा व्यापारिक सास्कृतिक र धार्मिक स्थलका रुपमा विकास गर्ने उद्देश्य ऐतिहासिक जोलजिवि मेला महोत्सवको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्र धामीले बताए । भारतको जौलजिविमा १ सय ४४ वर्ष पहिले देखी सरकारी स्तरबाट आयोजना गरिदै आएको मेलाको समयमा नेपाल तर्फ पनि यस वर्ष सरकारी स्तरबाट मेलाको आयोजना गरिएको अध्यक्ष धामीले बताए ।

नेपाल र भारतको सिमा नदि महाकाली संगै रहेको महाकाली र गोरी नदिको संगम जोलजिविमा प्रत्येक वर्ष मंसिर १ गते बाट १०÷१२ दिन सम्म ऐतिहासिक, धार्मिक, व्यापारिक र सास्कृतिक महत्व बोकेको जौलजिवि मेला सदियौं देखि संचालन हुँदै आएको छ । स्कन्दपुराणमा प्रसिद्ध धार्मिक स्थल कैलाश मानसरोवर जाने तीर्थ यात्री महाकाली र गोरीको संग स्थल जोलजिविमा स्नान गरी त्यस तर्फ जाने गरेका भनि उल्लेख हुनु यस स्थानको पौराणिक काल देखी महत्व रहेको पाइन्छ । जोलजिवि मेलाको सुरुवात सन् १८७१ मा भारतको अस्कोट रियासतका राजा पुष्कर पालले गरेको स्थानिय बुढापाखाहरुले बातएका छन् ।

मेलामा नेपाल भारत चिनको तिव्वतबाट व्यापारीहरु आउने गर्दछन्, भने नेपालबाट जडिवुटि, घियु, मह, जुम्लाका घोडा लगायत अन्य व्यापार लिएर व्यापारीहरु सहभागी हुने गर्दछन् । ऐतिहासिक जोलजिवि मेला महोत्सव २०७५ को शनिवार एक औपचारिक कार्यक्रमका विच सुदुरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मन्त्री माया भट्टले उद्घाटन गरेका छन् । स्थानीय सरकार आएपछि यस क्षेत्रको पर्यटन प्रवद्र्धनको लागि पनि नेपालले सरकारी स्तरबाटै बजेट विनियोजन गरेर मेला महोत्सवको शुरुवात गरिएको गाउँपालिकाका अध्यक्ष धामीले बताए । अध्यक्ष धामीले ऐतिहासिक रुपमा मनाइदै आएको जोलजीवि मेला महोत्सवलाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएर मनाउनु पर्नेमा जोड दिएका छन् ।

विगतमा पुर्खाहरुले लगाउँदै आएको पहिरन, भाषा संस्कृति र यस क्षेत्रमा रहेका धार्मिक, पर्यटकीय स्थलहरुको प्रचार प्रसार प्रदेश सरकारको उच्च प्राथमिकतामा पर्नु पर्ने उनको भनाई छ । गाउँपालिकाका अध्यक्ष धामीले गाउँपालिका भित्र रहेका धार्मिक, पर्यटकिय स्थलहरुको प्रचार प्रसार तथा विकास गर्न भर्तोला, जोलजिवि सेरा सडक खण्डलाई स्तरोन्नती गर्न प्रदेश सरकार संग माग गरेका छन् । साथै उनले गाउँपालिका भित्र पर्यटकिय पुर्वाधार विकासका पनि प्रदेश सरकार संग माग गरेका छन् ।