विवाद छैन, छिट्टै एकता प्रकृया टुङ्गिन्छ


चिरञ्जीवी मास्के, दोलखा । विवादका कारण नेपाल कम्युनिष्ट पार्टी नेकपाको साङ्गठानिक एकता प्रकृया प्रभावित बनेको चर्चा चलिरहेको बेला अध्यक्ष पुष्पकमल दहालले कमिटी निर्माणमा भएको ढिलाई विवाद र झमेलाको कारण नभएको प्रष्टिकरण दिनु भएको छ ।

शनिवार रिनेजम नेपालले आयोजना गरेको प्रथम प्रकाश स्मृति खुला फुटबल प्रतियोगीताको उद्घाटन गर्न दोलखा आउनु भएको अध्यक्ष दाहालले नेपाल कम्युनिष्ट पार्टी नेकपाको कार्यालयमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा विशेष सम्बोधन गर्नुहुदै अब छिट्टै पार्टीको तल्ला कमिटीसम्म एकता हुने उद्घोष गर्नु भयो ।

दुई वटा ठुलो कम्युनिष्ट पार्टीको एकता विश्वकै लागि उदाहरणीय रहेको उल्लेख गर्नुहुदै यसले अहिले पनि कम्युनिष्ट पार्टी आक्रमक छ भन्ने सन्देश दिएको उहाँले बताउनु भयो ।

विश्वमा कम्युनिष्टहरु रक्षात्मक अवस्थामा रहेको बेला नेपालमा भएको दुई ठुला कम्युनिष्ट पार्टीको एकता र कम्युनिष्ट पार्टीको नेतृत्वमा झण्डै दुई तिहाईको सरकार निर्माण असाधारण र दुर्लभ परिघट्ना रहेको अध्यक्ष दहालको भनाई छ ।

पार्टी एकताको बेला तल्लो कमिटीसम्म तीन महिना भित्र एकता सक्ने भनिएकोमा त्यस्तो हुन नसकेको स्वीकार गर्नुहुदै अध्यक्ष दहालले तल्लो कमिटीसम्म एकता भै नसक्नुमा नेताहरुको विदेश भ्रमण, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली केहि समय विरामी पर्नु र कार्यदलले सोचेअनुसार चाँडो काम गर्न नसक्नु प्रमुख कारण रहेको बताउनु भयो ।

अध्यक्ष दहालले विवादका कारण एकतामा ठिलाई भएको कुरामा कुनै सत्यता नरहेको बताउनु भएको । अध्यक्ष दहालले पार्टी एकता प्रकृयामा शङ्का गर्नु पर्ने अवस्था नरहेको उल्लेख गर्नुहुदै मंसिर ६ गते हुने पार्टी सचिवालय बैठकले प्रदेश र जिल्ला तहमा एकताको प्रकृया टुङ्गो लगाउने बताउनु भयो । उहाँले अहिले पनि एकता प्रकृया भाड्न स्वदेशी तथा विदेश केहि तत्वहरु लागि परेको उल्लेख गर्नुहुदै त्यस्ता हरेक बाधा अड्चनलाई पन्छाएर अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको छ ।