कांग्रेस सभापतिहरुको निश्कर्षः जनतामा नैराश्यता वढ्यो


महेश न्यौपाने, रोल्पा
नेपाली कांग्रेस ५ नम्वर प्रदेशका जिल्ला पार्टी सभापतिहरुको वैठक प्रसिद्ध धार्मिक पर्यटकीय स्थल प्यूठानको स्वर्गद्धारीमा शुक्रवार सम्पन्न भएको छ । नेपाली कांग्रेस प्यूठानका सभापति अमरप्रसाद भण्डारीको अध्यक्षतामा भएको वैठकले विभिन्न निर्णय समेत गरेको छ ।

वर्तमान सरकार प्रति जनताको ठूलो आशा र अपेक्षा रहे पनि जनताको न्यूनतम र आधार आवश्यकता समेत पुरा हुन नसक्दा जनताहरुमा नैराश्यता वढेको कांग्रेसको वैठकले ठहर गरेको छ । बैठकले वर्तमान सरकारको रवैया र गतिविधि प्रति तिव्र असन्तुष्टी जनाएको छ । सरकार गठनको ९ महिना पुरा हुदा पनि शान्ती सुरक्षा र जनजिविकाका सवालमा सरकार गम्भिर नभएको आरोप लगाएको छ ।

खाद्यान्न लगायत अन्य अत्यावश्यक सामाग्रीको चरम मूल्य वृद्धी, विभिन्न वहानामा स्थानीय सरकारले उठाउने करले निम्न स्तरका जनताको दैनिक जीवनयापनमा कष्टकर वन्दै गएको वैठकले ठहर गरेको छ । हत्या हिंसा वृद्धी हुदा समेत सरकार रमिते वनेर हेरिरहेको, हत्या आरोपीलाई पक्रनुको साटो अपराधीहरुलाई संरक्षण दिने कार्यमा सरकार लागेको जस्ता आरोप लगाइएको छ । वैठकले यथासिघ्र जनविरोधि कार्य रोकी शान्ती सुव्यवस्था कायम गर्न तथा जीवन यापन सहज वनाउन सरकार संग माग समेत गरेको छ ।

यसैगरि पार्टीबाट संघीय संसद र र प्रदेश सभामा निर्वाचित प्रतिनिधिहरुले जनसरोकारका विषयमा शसक्त र रचनात्मक प्रतिपक्षको भूमिका खेल्नु पर्ने सुझाव पनि दिएको छ । वैठकले पाँच नम्वर प्रदेश सरकारलाई अविलम्व प्रदेशको नाम र राजधानी टुंग्याउन माग समेत गरेको छ । ५ नम्वर प्रदेश अन्तरगतका सवै जिल्लामा संगठन सुदृढीकरण र गाउँ केन्द्रीत अभियान संचालन गर्दै पार्टी जिल्ला सभातिहरुको वैठक समेत घुम्ति रुपमा राख्ने निर्णय गरेको छ ।

पार्टीको आगामी महासमिति वैठकमा जिल्ला सभापतिहरुको हेटौडा भेलाले निर्दिष्ट गरे वमाजिम विधान मस्यौदामा प्रस्तुत हुने निर्णय समेत गरेको छ । वैठकले पार्टी रुपन्देहीका सभापति अव्दुल रजक गद्धीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै स्वर्गद्धारी विकासका लागि जोडदार आवाज उठाउने निर्णय समेत गरेको नेपाल विद्यार्थी संघ रोल्पाका योगेन्द्र अनुपम जीसीले जानकारी दिए ।

वैठकमा नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिं पुन, कपिलवस्तुका सभापति सुरेन्द्र आचार्य, पाल्पाका सभापति वीरवहादुर राना, वाँकेका सभापती किरण कोइराला, अर्घाखाँचीका सभापति विष्णु भुसाल, दाङका सभापति किर्तिवहादुर खड्का, वर्दियाका सभापति संजय गौतम, नवलपुरका सभापति अर्जुनकुमार पोख्रेल र गुल्मीका सभापति भुवन श्रेष्ठको उपस्थिति रहेको वताइएको छ ।