जिल्लाको प्रमुख कार्यालयमै छैन स्तनपानकक्ष, खुलारुपमा स्तनपान गराउँदै महिला


नेपाल समाचारपत्र, हेटौंडा,
गत बिहीबारको कुरा हो, जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आएकी एक महिला कार्यालयको चौरमै काखमा डेढ वर्षको बच्चा च्यापेर असहजतरिकाले स्तनपान गराँउदै थिइन् ।

उनी थिइन् बागमती गाउँपालिकाकी माइलीमाया थोकर । नागरिकताको प्रतिलिपि लिन आएकी थोकर घण्टौं लाइनमा बस्नुप¥यो, त्यो पनि बच्चाकै साथमा । थोकर भन्छिन्–घरबाट विहान ६ बजे हिँडेको । मैले होटलमा खाना खाएँ, बच्चालाई भने राम्रोसँग दूध खुवाउन पाएकी छैन । उनले थपिन्–वरिपारि मान्छे नै मान्छे छन्, उसलाई दूध चुसाउन साह्रै असहज भएको छ ।

करिब ११ बजे कार्यालय पुगेकी उनले २ बजेसम्म पाँचपटक छोरालाई असहज तरिकाले स्तनपान गराइन्, खुला चौरमै । उनले भनिन्–अप्ठ्यारो लागिरहेको हुन्छ । तर, बच्चाको भोक मेटाउन आफू अप्ठ्यारा हटाउन वाध्य भएको उनले बताइन् ।

हेटौंडा बस्तीपुरकी श्रीमाया लामा पनि नागरिकता बनाउन आइन् । उनी पनि कार्यालयपरिसरमा रहेको चौतारामा बसेर स्तनपान गराउन वाध्य भइन् । लामाले गुनासो गरिन्–बच्चालाई सहज तरिकाले स्तनपान गराउन पाइँदैन । १६ महिने शिशु च्याप्दै उनले थपिन्–बच्चा छिनछिनमा रुन्छ, दूध खान मनगर्छ । तर, अप्ठ्यारो लाग्ने भएकोले कहिले काहीँ त भोकै राख्दिन्छु ।

बकैया गाउँपालिकाकी सबिना जिम्बाको पनि हालत उस्तै देखियो । ‘११ महिने शिशुलाई लिएर काममा हिँड्नुपर्छ । उचित समयमा सहजढंगले दूध खुवाउनै पाइँदैन, भिडभाडमा खुलारुपमा बसेर कसरी दूध खुवाउनु,’ उनले गुनासो पोखिन् ।

त्यस दिन त्यहाँ ६ महिलाले अप्ठ्यारो मान्दै त्यसैगरी खुला चौरमा स्तनपान गराँउदै थिए । त्यस दिनमात्र होइन, जिल्लाकै प्रमुख कार्यालयमा दैनिक खुलारुपमा स्तनपान गराउने महिला कयौं भेटिन्छन् ।

जिल्लाकै प्रमुख कार्यालय दिनहुँ अतिव्यस्त रहने गर्दछ । त्यहाँ दैनिक सयौंको संख्यामा सेवाग्राही आउने गर्दछन् । बिकट ठाउँबाट आएकामध्ये २५ प्रतिशत स्तनपान गराउने महिला भेटिने गरेको कार्यालयका एक कर्मचारीले बताए ।

कार्यालयको नयाँ संरचनाअनुसार स्तनपानकक्ष अनिवार्य रहेको प्रमुख जिल्ला अधिकारी आश्मान तामाङले बताउनुभयो । तर, कार्यालयका भवन पुराना भएकोले स्तनपानकक्षको व्यबस्था गर्न नसकिएको प्रजिअ तामाङले स्वीकार गर्नुभयो । माघदेखि कार्यालयको नयाँ संरचनाअनुसार भवन बन्ने भएकोले स्तनपानकक्ष पनि त्यही बेलामा नै बन्ने उहाँले बताउनुभयो ।

खुलारुपमा स्तनपान गराउँदै आएका महिलाले बेहोर्दै आएको समस्याबारे आफू जानकार रहेकोले यस्ता समस्या समाधान गर्न कार्यालय लागिपरिरहेको प्रजिअ तामाङले बताउनुभयो । ‘बच्चा र आमा दुवैको स्वास्थ्यलाई मध्यनजर गरेर स्तनपानकक्षको स्थापना चाँडै गरिनेछ,’ उहाँले भन्नुभयो । हेटौंडा खानेपानी बोर्डले भने जिल्लाकै पहिलो स्तनपानकक्ष स्थापना गरेको छ ।