नेताहरु जनतालाई ढाट्छन मात्र: पुरा भएन निर्वाचनको बेला गरिएको प्रतिवद्धता


विनोद सिंह विष्ट, बैतडी
बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लाबाट रोजगारीका लागि भारत जानेको सीमा नाका झुलाघाट भएर भारत नेपालीहरुको लर्को लाग्न थालेको छ ।

दशैं तथा तिहार जस्ता चाडपर्वहरुको सकिए लगत्तै रोजगारीका लागि भारत जानेको लर्को लाग्न थालेको हो । हिजोआज सीमा नाका झुलाघाटमा रोजगारीका लागि भारत पस्नेको संख्या बढ्दै गएकोसीमा प्रहरीचौकी झुलाघाटले जनाएको छ । रोजगारीका लागि बैतडीबाट मात्रै दैनिक ३ सय बढी भारत पस्ने गरेका सीमा प्रहरीचौकी झुलाघाटका इन्चार्ज उमेशकुमार पालले बताए ।

स्वदेशमा रोजगारीका सम्भवानाहरु नभएकाले भारत जानुपरीरहेको नागरिकहरुको गुनासो रहेको छ । स्वदेशमै रोजगारीका सम्भवना नभएकाले यूवाहरुले विदेश जानुपरीरहेको सुर्नया ६ का प्रकाश अवस्थीले बताए ।उनले भने“ चुनावका बेला मात्रै नेताहरुले रोजगारी दिने बाचा गरेपछि चुनावपछि गाउँ फर्केका छैनन् ”

अहिले खेतबारीको सबै काम सकिएकाले पैसा कमाउन भारत जान लागेको सिमानाकाबाट भारत जानेहरुले बताएका छन् । गाउँका अधिकांश यूवा रोजगारीका लागि भारत छिरेपछि गाउँमा बुढाबुढी र महिलामात्रै रहेका छन् । गाउँको विकास निर्माणका कामहरुमा समेत महिलाहरु नै सहभागी हुने गरेका छन् ।

आफ्नै बारीबाट उब्जेको अन्नले बाह्रै महिना खान नपुगेपछि भारतमा काम गरेर ल्याएको पैसाले खाना किनेर खानुपर्दा भारत जाने गरेका छन् ।
देशमा व्यवस्था फेरिएपनि गरिब र सीमान्तकृत नागरिकको अवस्था अझै फेरिएको छैन् । नेताहरुको बोलीले जनतालाई सुविधा दिने भनिएपनि देखिने गरि कुनै काम हुन सकेको छैन्। आफूले जिते घरघरमै रोजगारी सिर्जना गछौं विदेश तथा भारत जानुपर्ने बाध्यता हट्छ भनेर जितेका नेताहरुको भनाई बोलमिै सीमित भएको छ ।

गएको स्थानीय तहको निर्वाचन, प्रदेश र संघको निर्वाचनका बेला नेताहरुले बोलेका कुरा पूरा गर्न सकेका छैनन् । गाउँमै रोजगारीको सिर्जना गरी बेरोजगारी अन्त्य गर्ने नेताहरुले भाषण गरेका भएपनि गाउँमा रोजगारीको सिर्जनागर्न नसकेको स्थानीयहरुले गुनासो गरेका छन् । नेताहरुले आफ्ना आसेपासेहरुलाई मात्रै हेर्न थालेपछि आफूहरुले परिवार पाल्न भारत जानुपरेको पुरचौंडीका दलबहादुर धामीले बताए ।

रोजगारीका सम्भावना नहुँदा परिवार पाल्न बषैपिच्छे भारत जानुपर्ने स्थानीयहरुको नियती बनेको छ । घरपरिवार पाल्नका लागि गाउँमा केही नहुँदा भारत जानुपरेको हो । देशमा जस्तोसुकै व्यवस्था आएको भएपनि आफूहरुका समस्या कसैले समाधान नगरेको उनीहरुको गुनासो छ । भारतमा मजदुरी गरी पेट पाल्न, परिवार पाल्न भारत जानुपर्ने आफुहरुको बाध्यता भएको उनिहरुले बताएका छन् ।

गाउँमै रोजगारीका अवसर भए आफूहरुलाई भारत जान रहर नभएको उहाँले बताउनुभयो । चुनावका बेला नेताहरुले बोलेका कुरा नारामै सीमित भएका पुरचौंडीका गगनसिंह धामीले गुनासो गरे । रोजगारीका लागि भारत जाने नागरिकहरुले आफूहरु बाध्यताले भारत पसीरहेको उनको भनाई छ ।

रोजागारीका लागि भारतमा गएर रोजगारी गर्नुपर्ने जनताको नियती फेर्न सरकारले सिन्को भाँच्न सकेको छैन् । स्थानीय सरकार नजिकको सरकार भनिएपनि आफ्नै गाउँका नागरिकलाई रोजगारी दिने तर्फध्यान गएको छैन ।
विद्यालय उमेरका बालबालिकादेखि लिएर कपाल फुलेर सेताम्य भएका नागरिक रोजगारीका लागि जाने गरेका छन् । घरको आर्थिक अवस्था दयनीय भएको र गाउँमा कुनै उपाय नलागेपछि विद्यालय छोडेर रोजगारीका लागि भारत जान लागेको पुरचौंडीका हिरासिंह धामीको भनाई छ ।

देशमा संघीय गणतन्त्र स्थापना भएपछि तीन तहका सरकारले काम गरिरहेका छन् । चुनावका बेला नेताहरुले गरिबि, बेरोजगारीको अन्त्य गर्ने नारा पनि फकालेकै हुन् । तर चुनावपछि गरिब नागरिकका लागि फर्केर नहरेको गुनासो दलबहादुर धामीको रहेको छ ।

स्थानीय सरकारले गाउँघरमै रोजगारीको सिर्जना गरेर घरपरिवार पालनकै लागी भारत जाने ध्यान गरिब नागरिकको जीवनस्तर सुधारमा केन्द्रित हुनु आवश्यक छ ।

सुदूरपश्चिमका पहाडी जिल्लाका अधिकांश नागरिक मजदुरीका लागि झुलाघाट नाका भएर भारत जाने गरेका छन् । बैतडी लगायत डडेल्धुरा, डोटी, अछाम, बाजुरा लगायत हुम्ला, मुगुका युवापनि झुलाघाटबाट भारत जाने गरेका छन् ।