गौमुखीमा मिडिया सम्मेलन हुने


सलिम अन्सारी, प्यूठान
पवित्र धार्मिक एवम् पर्यटकीय तीर्थस्थल गौमुखिमा मिडिया सम्मेलन हुने भएको छ। गौमुखि सहित जिल्लाका अन्य धार्मिक एवम् पर्यटकीय स्थलको प्रचार–प्रसार गर्ने उद्देश्यले यहि मंसिर १४ र १५ गते सम्मेलन आयोजना गर्न लागिएको हो ।

विभिन्न मिडिया हाउसका पत्रकारहरु सहभागी हुने उक्त सम्मेलनमा यस क्षेत्रमा पर्ने पर्यटकीय गन्तव्यहरूको थप पहिचान र विकासमा पत्रकारहरूको भूमिकाका विषयमा छलफल गरिने पत्रकार महासङ्घ प्यूठानका अध्यक्ष महाबिर रानाले जानकारी दिए ।

‘पर्यटन आर्थिक क्षेत्रको प्रमुख मेरुदण्ड हो,’ उनले भने, ‘यस्ता पर्यटकिय क्षेत्रको प्रबर्द्धन बिना आर्थिक समृद्धि कायम हुन सक्दैन अब आर्थिक समृद्धितर्फ पत्रकारहरूले कलम चलाउनुपर्छ ।’ रानाले भने। संघीय सरकारका पर्यटनमन्त्री सहित पर्यटनसँग सम्वन्धित विभिन्न निकायका ब्याक्तिहरूलाई समेत सम्मेलनमा सहभागी गराउने योजनामा रहेको यस्तो कुम्भ मेलामा सहभागी हुन नेपाल पत्रकार महासंघ प्युठानले सबैलाई आग्रह गरेको छ।

सम्मेलनको तयारीका लागि अर्खामा विभिन्न उपसमितिहरू समेत गठन भइसकेका छन् सम्मेलनमा सहभागी हुने पाँहुनालाई आयोजकले स्थानीय परिकारको स्वाद चखाउने योजना बनाएको छ ।कोदोको ढिडो, लोकल कुखुराको मासु ,रोटी, रायोको साग, फापरको रोटी, सिस्नो, सखरखण्ड, सिंकी लगाएत परिकारले पाँहुनाको सत्कार गरिने गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी गराए । ‘जिल्लाका अन्य स्थानीय तहकोे तुलनामा हाम्रो गाउँपालिका दुर्गममै पर्छ’,उनले भने, झिमरुक नदिको उद्गम स्थल पनि यहीँ हो ,सवैको साथले सुगम गाउँपालिका बनाउने अठोटमा छौँ ।’

गौमुखी क्षेत्रमा रहेका संभावना र अवसरलाई उजागर गरी स्थानीयको जनजिविकालाई माथी उठाउन र यहाँको भौतिक पुर्वाधार बिकासका लागी सम्मेलनले साथ दिने उनले विश्वास व्यक्त गरे ।सम्मेलन अवधिभर बस्ने अतिथीहरूलाई आयोजकले होमस्टेमा राख्ने व्यवस्था समेत मिलाएको छ ।पत्रकार महासङ्घ जिल्ला शाखा प्यूठान र गौमुखी गाउँपालिकाको संयुक्त आयोजनामा अर्खामा हुने उक्त कार्यक्रम सम्पन्न गर्न करीब १० लाख रुपैयाँ खर्च अनुमान गरिएको उक्त कार्यक्रममा देश भरिका २ सय जना पत्रकार सहभागी हुनेछन् ।