फाईट ब्याकको फिट ब्याक


चिरञ्जीवी मास्के, दोलखा
बालिकाहरुको संरक्षक को हो ? स्वभाविक रुपमा आउने जवाफ भनेको परिवार, आफन्त, छिमेकी र शिक्षक नै हुन् । तर विडम्बना पछिल्लो समय अधिकांश बालिकाहरु (छात्राहरु) यस्तै नजिककाबाट असुरक्षित बन्दै गएका छन् ।

दोलखा प्रहरीले सञ्चालन गरेको ‘फाईट ब्याक, प्रहरी साथमा छ’ नामको विशेष अभियान अन्र्तगत सहभागि बालिकाहरु (छात्राहरु) ले दिएको ‘फिट ब्याक’मा आफुहरु परिवारका सदस्य, आफन्त, छिमेकी र कतिपय पिटी शिक्षक तथा क्यान्टिन सञ्चालकबाट यौन हिंसामा पर्ने गरेको उल्लेख भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले बताए ।

त्यस्ता नजिककाहरुलेनै संवेदनसील अङ्गमा छुन खोज्ने, बिभिन्न बहानामा नजिक आउन खोज्ने, यौन सम्बन्धि कुरा गर्ने गरेको छात्राहरुले दिएको ‘फिट ब्याक’मा उल्लेख गरिएको प्रहरी नायव उपरीक्षक पाठकले बताए ।

जिल्ला प्रहरी कार्यालय दोलखाले बालबालिका माथि बढ्दै गएको यौन हिंसा तथा दुव्र्यवहारको अन्त्यको लागि ‘फाईट ब्याक, प्रहरी साथमा छ’ नामको विशेष अभियान सुरु गरेको थियो । सिविन नेपालको सहयोगमा जिल्ला प्रहरी कार्यालय दोलखाले सुरु गरेको ‘फाईट ब्याक, प्रहरी साथमा छ’ विशेष अभियानको क्रममा यौन दुव्र्यवहार, यौन हिंसा, यौन हिंसामा संलग्न पक्ष, यौन हिंसाका अभियुक्तलाई हुने कानुनी सजाय, कानुनी उपचार खोज्ने तरीका, आत्म रक्षाको लागि अपनाउनु पर्ने उपाएहरु लगाएतको बारेमा प्रशिक्षित गरिएको थियो ।

अभियानको क्रममा कार्यक्रम सञ्चालन भएको प्रत्यक विद्यालयमा ‘फिट ब्याक’को लागि पेन ड्रप बक्स (पीडा राख्ने) राखिएको र त्यसमा अभियानमा सहभागि छात्राहरुले आफुहरु नजिकका आफन्तबाटै बढी यौन हिंसामा पर्ने गरेको गुनासो लिखित रुपमा पेन ड्रप बक्समा राखेको प्रहरी नायव उपरीक्षक पाठकले बताए ।

जिल्ला प्रहरी कार्यालय दोलखाले सदरमुकाम चरिकोट र जिल्लाको अन्य ठाँउका नीजि तथा सामुदायीक गरी १७ वटा विद्यालयमा ‘फाईट ब्याक, प्रहरी साथमा छ’ अभियान सञ्चालन गरेको थियो । उक्त विशेष अभियानमा दुई हजार पाँच सय ६३ जना छात्राहरुको सहभागिता रहेकोमा एक हजार दुई सय ४७ जना छात्राले पेन ड्रप बक्समा ‘फिट ब्याक’ लेखेर राखेका थिए ।

त्यसरी प्राप्त ‘फिट ब्याक’ मध्य एक सय ६७ वटा फिट ब्याक निक्कै पीडादायी र अपत्यारीला खालको रहेको प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले बताए । प्राप्त ‘फिट ब्याक’को आधारमा जिल्ला प्रहरी कार्यालय दोलखाले सम्बन्धित विद्यालयका प्रिन्सिपल, अभिभावकलाई बोलाएर जानकारी तथा सचेत गराउने, कतिपय छात्राले आफुलाई दुव्र्यवहार गर्ने पिटी शिक्षक र क्यान्टिन सञ्चालकको नाम समेत उल्लेख गरेकोले उनीहरुलाई समेत बोलाएर सचेत गराउने र पुनः त्यस्तो घट्ना दोहोरीय कानुनी कार्वाहि समेत गर्ने प्रहरी नायव उपरीक्षक पाठकले बताए ।

जिल्ला प्रहरी कार्यालय दोलखाले अभियान सञ्चालन भएका मध्य १२ वटा विद्यालयमा त्यहाँको प्रिन्सिपलको संयोजकत्वमा विद्यालय प्रहरी सम्पर्क समिति गठन गरेको र अब छात्राहरुबाट प्राप्त ‘फिट ब्याक’को आधारमा सञ्चालन हुने चेतना मूलक तथा कार्य मूलक अभियान सोहि सम्पर्क समिति मार्फत सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

चेतना मूलक अभियान अन्र्तगत ‘एक दिन प्रहरी संग’ कार्यक्रम पनि सञ्चालन गरिने र सो क्रममा बिभिन्न विद्यालयका विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालयमा केहि समय राखेर प्रहरी कार्यालयमा हुने गतिविधिहरु प्रत्यक्ष अवलोकन गर्ने अवसर दिने प्रहरी नायव उपरीक्षक पाठकले बताए । अबको अभियानमा भने छात्रामात्र नभै छात्रहरुलाई पनि सहभागि गराईने प्रहरी नायव उपरीक्षक पाठकले बताए ।