सूर्तीजन्य पदार्थको उत्पादनमा प्रतिबन्ध लगाउन सरोकारवालको माग


काठमाडौ (नेस) । सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन तथा नियमावली तत्काल कार्यान्वयनमा ल्याउन सरोकारवालाहरुले सरकार समक्ष माग गरेका छन । उक्त ऐन जारी भएको ७ बर्ष बितिसक्दापनि पूर्ण रुपमा कार्यान्वयनमा नआएको भन्दै सरोकारवालाहरुले सरकारको ध्यानाकर्षण गराएका छन ।

प्रमुख सूर्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनी सूर्य नेपालले कानुन कार्यान्वयन नगरेको भन्दै सरोकारवालाहरुले कारवाहीका माग गरेका हुन । स्वास्थ्य तथा जनसख्या मन्त्रालय, एक्सन नेपाल र स्वास्थ्य पत्रकार मञ्चद्वारा शनिबार राजधानीमा आयोजित सुर्तिजन्य पदार्थ तथा नियमनको प्रभावकारी कार्यान्वयन बिषयक कार्यक्रममा सहभागी भएका अर्थ र उद्योग मन्त्रालयको समन्वयमा सुर्तीजन्य पदार्थको उत्पादनमा प्रतिवन्ध लगाउनु पर्ने दावी गरेका थिए ।

पछिल्लो समय नेपालमा सूर्तीजन्य पदार्थको सेवनकर्ताको सख्या ५० लाखभन्दा माथि रहेको कार्यक्रममा जानकारी दिइएको थियो भने सुर्तीजन्य पदार्थ सेवनका कारण हरेक बर्ष २५ हजार नेपालीको मृत्यु हुने गरेको बताइएको थियो । कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने ) ऐन तथा नियमावलीलाई कार्यान्वयनमा ल्याउन अर्थ, उद्योग तथा स्वास्थ्य मन्त्रालयको समन्वय आवश्यक रहेको बताउनुभयो ।

सांसद रामनारायण विडारीले सार्वजानिक पद धारणा गर्ने व्यक्तिले सूर्तीजन्य पदार्थ सेवन गर्न नपाइने गरी नियमावली संशोधन गर्नुपर्ने बताउनुभयो ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका निमित्त सचिव डा शुसीलनाथ प्याकुरेलले नसर्ने रोग रोकथामका लागि सरकारले दुई अर्बभन्दा बढी रकम जनताको नाममा लगानी गरेको जानकारी दिनुभयो । एक्सन नेपालका कार्यकारी निर्देशक आनन्द चन्दले सूर्तीजन्य पदार्थ सेवनका कारण नसर्ने रोगीका सख्या बढिरहेको बताउनुहुदै यसको रोकथामकालागि सुर्तीजन्य पदार्थको उत्पादनमा रोक लागाउनु पर्ने बताउनु भयो ।

क्यान्सर रोग विशेषज्ञ डा राजेन्द्र बराल र मुटरोग विशेषज्ञ डा ओममूर्ती अनिलले सूर्तीजन्य पदार्थ सेवनले मुटु, मिर्गाैला, मधुमेह तथा क्यान्सर रोगको जोखिम उच्च रहेको बताउनुभयो ।