प्रहरी संगठनलाई अझै सुधार्ने आईजीपी खनालको प्रतिवद्धता


काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्र केही खराब आचरण भएका प्रहरीलाई तत्काल कारवाही गरिने बताएका छन् । काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा अस्थायी प्रहरी बिटको उद्घाटन गर्दै खनालले अपराध रोकथाम गरी समाजमा शान्तिसुरक्षा र अमनचैन कायम गर्न ल्याइएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम प्रभावकारी हुने समेत बताए ।

कार्यक्रममा बोल्दै खनालले भने–‘समाजमा केही खराब मान्छे छन् जसले प्रहरीलाई कमजोर बनाई विभिन्न आपराधिक गतिविधिमा संलग्न हुनका लागि हल्ला फैलाएको हुन सक्छ तर, प्रहरीलाई म कुनै हालतमा सुधार्नेछु ।’

खनालले गागलफेदीको चारकोठे अस्थायी प्रहरी बिटको उद्घान गर्दै खनालले प्रहरी सेवामा उत्कृष्ट कार्य गरेकामा महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी खनाललाई नगदसहित पुरस्कृत गरेका थिए । प्रहरी भूमिका र छविका बारेमा पछिल्लो समयमा अनेक प्रश्‍न र आशंका बढेपछि प्रहरी नेतृत्वले संगठन शुद्धिकरण र सुदृढीकरण अभियानलाई प्रभावकारी रुपमा अघि बढाएको छ।