अलपत्र सिक्टामा अष्ट्रेलियन टोली


काठमाडौं । अलपत्र अवस्थामा रहेको राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको मूल नहर पटक–पटक भत्किनुको कारण खोज्न अस्ट्रेलियाको प्राविधिक टोली आउने भएको छ । केही दिनभित्रै टोली नेपालगञ्ज आउने भएको हो । सिक्टाको मूल नहर नै पटक– पटक भत्किदै आएको छ । नहरको गुणस्तर छानबिनको माग उठिरहेका बेला विदेशी प्राविधिक टोली आउने भएको हो ।

यसअघि सरकारका सचिव र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको छुट्टाछुट्टै टोलीले नहर भत्किनुको कारणबारे अध्ययन गरिसकेको छ । सचिवस्तरीय समितिले घुलनशील माटोका कारण नहर भत्किने गरेको प्रतिवेदन सरकारलाई बुझाएको छ ।

उक्त आयोजना स्वदेशी लगानीमा निर्माण भइरहेको छ । सिक्टाको मूल नहरको पानी धान्ने क्षमता ५० क्युसेक मानिएको छ । परीक्षण र बाढी आएका बेला उक्त नहर भत्किने गरेका कारण गुणस्तरमा प्रश्न उठ्ने गरेको हो । आयोजनाका अनुसार दायाँबायाँ दुवै मूल नहरको चुरे र फुटहिल क्षेत्रबाट दर्जनौं खोलानाला बगेका कारण वर्षामा नहरमा क्षति हुने गरेको छ ।