पुल निर्माण र खाद्य परियोजनाका लागि विश्व बंैकको १८ अर्ब सहयोग


 

काठमाडौं, (नेस) । नेपालको पुल निर्माण तथा मर्मतका साथै खाद्य एवम् पोषण परियोजना कार्यान्वयन गर्नका लागि विश्व बैंकले १८ अर्ब रुपिया“ सहयोग गर्ने भएको छ । उक्त सहयोगसम्बन्धी बुधबार सम्झौता भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडा र विश्व बैंकका उपाध्यक्ष हार्टविग साफेरको उपस्थितिमा अर्थसचिव राजन खनाल र विश्व बैंकका देशीय निर्देशक चिम्याओ फ्यानले हस्ताक्षर गर्नुभयो । पुलमा लगानी गर्न बैंकको १३ अर्ब ३० करोडभन्दा बढी ऋण सहयोगबाट ४७७ बढी पुल निर्माण हुनेछ ।

जसमध्ये ९० वटा पुलको मर्मत, १८० वटाको स्तरोन्नतिका साथै ८० वटा दुईलेनका नया“ पुल र ३५ वटा चार लेनका पुलको मर्मत एवं पुनःस्थापना गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

त्यस्तै समावेशी विकास तथा महिलालाई केन्द्रमा राखेर खाद्य तथा पोषण सुदृढीकरणका लागि चार अर्ब ७० करोड रुपिया“ विश्व बैंकले अनुदान प्रदान गर्ने भएको छ । उक्त परियोजनाबाट ६५ हजार घरपरिवार प्रत्यक्षरूपमा लाभान्वित हुने अर्थमन्त्रालयको भनाइ छ ।

सम्झौताका अवसरमा अर्थमन्त्री मन्त्री खतिवडाले सडक र पुल भौतिक पूर्वाधार विकासका पूर्वशर्त भएको भन्दै नेपालको सामाजिक–आर्थिक विकासमा विश्व बंैकले निरन्तर सहयोग गरेकामा आभार प्रकट गर्नुभयो ।

त्यस्तै विश्व बैंकका उपाध्यक्ष साफेरले नेपाल सरकार र बैंकका पदाधिकारीको अथक प्रयासबाट एउटा परियोजनामा ऋण लगानी र अर्कोलाई अनुदान प्रदान गर्न सम्भव भएको भन्दै सडक र पुल विकासका मेरुदण्ड भएकाले त्यसमा लगानी गर्नु अपरिहार्य भएको बताउनुभयो ।