बुद्ध जन्मस्थलमा त्रिपिटक वाचन


यमलाल भुसाल, बुटवल
भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको आध्यत्मिक विकासका लागि लुम्बिनीमा त्रिपिटक वाचन (बौद्ध ग्रन्थ) सुरु गरिएको छ । त्रिपिटक तीन दिन सम्म वाचन गरिनेछ । नेपालमा त्रिपिटक वाचन पहिलो पटक शुरु भएको हो ।
त्रिपिटक भगवान बुद्धले दिएको ज्ञान र शिक्षाको सार संग्रहित ग्रन्थ हो । बौद्ध धर्ममा त्रिपिटकको विशेष महत्व रहेपनि यसबारे धेरै नेपालीहरु अनविज्ञ रहेका छन् ।

बुधवार लुम्बिनीमा एक समारोहको अयोजना गरी ¥याली सहित मायादेवी मन्दिरमा पुगेर त्रिपिटक वाचनको शुभारम्भ गरिएको छ । तीन दिन सम्म मायादेवी मन्दिरको पवित्र उद्यान भित्र जारी रहने त्रिपिटक वाचन नेपाल सहित थाइल्याण्ड, कम्बोडिया, चिन,भियतनाम, कोरिया, जापान लगायत विभिन्न १८ देशका ७ सय भन्दा बढी बौद्ध भिक्षु, भिक्षुणी, उपासक, उपासिकाको सहभागिता रहेको आयोजक संस्था अखिल नेपाल भिक्षु महासंघका स्थानिय सचिव चेतन पन्तले जानकारी दिनु भयो ।

अपि धम्मपिटक, सुत्तपिटक, विनयपिटक गरि त्रिपिटक नामाकरण गरिएको र अपि धम्मपिटक, सुत्तपिटक भगवान बुद्धकै पालामा लेखिएको र विनयपिटक दोश्रो शताब्दी ईशापूर्व सम्राट अशोकको पालामा लेखिएको बौद्ध ग्रन्थ रहेको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष एवम आयोजक भिक्षु मैत्रीले बताउनु भयो ।

यस पटक लुम्बिनीमा ३ वटै पिटक संगै गौतम बुद्धले आफ्ना पिता राजा शुद्धोधनलाई धर्मदेशना (ज्ञान दिदा) गर्दा सुनाउनु भएको बसन्त जातक सुत्र र शाक्य तथा कोलिय राज्यहरुका विच युद्ध हुन लाग्दा कपिलवस्तुमै युद्ध समाप्तीका लागी देशना गरेका महासमय सुत्र पनि पाठ गरिने हुनाले यो समारोह लुम्बिनीको आध्यत्मिक दर्शनका लागी अत्यन्त महत्वपूर्ण रहने बताईएको छ ।

त्रिपिटक पाली, देवनागरी र थाई भाषा आदिमा वाचन गरिने छ । जसलाई सहभागी प्रत्येक देशका भिक्षुहरुले आ–आफ्नो भाषा र शैलीमा पछ्याई वाचन गरेका छन् ।

लुम्बिनीको आध्यत्मिक विकास र पर्यटकको बसाई अवधि लम्बाउन त्रिपिटक वाचन समारोह महत्वपूर्ण हुने स्थानिय सचिव पन्तले बताउनु भयो ।

अमेरीकन बुद्धिष्ट एशोसिएसन, अखिल नेपाल भिक्षु महासंघ, थाई बुद्ध विहार लुम्बिनीको संयुक्त आयोजनामा कार्यक्रम सुरु भएको हो । बिगत १५ बर्ष देखी भारतमा मात्रै हुदै आएको त्रिपिटक वाचन लुम्बिनीमा सुरु भएसँगै लुम्बिनीको आध्यत्मिक, सांस्कृतिक महत्व थप बढ्ने र पर्यटकहरुको आवगमनमा वृद्धि हुने विश्ववास लिइएको छ ।