वृद्धभत्ता ५ हजार पु¥याइने


नेपाल समाचारपत्र, हेटौंडा
प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले वर्तमान सरकारको कार्यकालमा नै बृद्धभत्ता पाँच हजार रुपियाँ पु¥याइने बताउनुभएको छ । उहाँले वृद्धभत्ता पाँच हजार पु¥याएरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

हेटांैडा–२, चौकीटोलमा रहेको ओम वृद्धाश्रमको १२ औं साधारणसभाको मंगलबार उद्घाटन गर्दै उहाँले आफूहरुले चुनाबमा गरेको बृद्धभत्ता बढाएर पाँच हजार रुपियाँ पु¥याउने प्रतिवद्धता पूरा गरेरै छाड्ने दाबी गर्नुभयो । ‘बृद्धभत्ता पाँच हजार रुपियाँ पु¥याउने तयारीमा सरकार लागिपरेको छ,’ उहाँले भन्नुभयो ।

५ वर्षभित्र ज्येष्ठ नागरिकलाई पूर्व प्रतिवद्धताअनुसार नै मासिक ५ हजार रुपियाँ ज्येष्ठ नागरिक सुरक्षाभत्ता उपलब्ध गराइने उहाँले स्पष्ट पार्नुभयो । गएको निर्वाचनको घोषणापत्रमा ज्येष्ठ नागरिकहरुले पाउँदै आएको बृद्धभत्ता पाँच हजार पु¥याइने विषय बामपन्थी पार्टीहरुले समावेश गरेका थिए ।

सरकारले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाभत्ता बृद्धि गर्नुको साटो कम्तिमा ६० वर्षमाथिकाको लागि निःशुल्क स्वास्थ्योपचार व्यबस्था, ज्येष्ठ नागरिक स्वास्थ्य बीमा, साना स्वास्थ्य सामग्री व्यबस्था, ज्येष्ठ नागरिकको हितमा काम गर्न चाहने संघसंस्थाहरुले समेत ज्येष्ठ नागरिकको आबश्यकता पहिचान गरी गर्न सकिने साना काम, आरोग्य आश्रम, ज्येष्ठ नागरिकलाई मानवअधिकार, न्यानो कपडा, हटब्याग, बुढ्यौली अस्पताल र डाक्टर, ज्येष्ठ नागरिक क्रियाशील परियोजना, ज्येष्ठ नागरिक पेन्सनकोष, ज्येष्ठ नागरिक अध्ययन केन्द्र र अन्तरपुस्ता सम्बाद अभियानलगायतको आवश्यकता औंल्याइएको छ ।

सामाजिक सुरक्षाका विभिन्न आयाम हुन्छन् । सामजिक सुरक्षा भनेको पैसामात्र हो भन्ने स्थापित हुन खोजिरहेको अबस्थामा नगद प्रवाहमा आधारित सामाजिक सुरक्षामा पुनर्मूल्यांकन गर्ने तयारीमा सरकार रहेको मुख्यमन्त्रीको भनाइले देखाएको छ । स्वास्थ्य बीमा, आवास, शिक्षा, खाद्यान्नलगायत अवसरमा यसलाई जोड्नु आवश्यक रहेको सरकारी भनाइ छ ।

सरकारले हरेक जिल्लामा ज्येष्ठ नागरिक आश्रयस्थल निर्माण गर्ने काम भइरहेको भन्दै उहाँले अब छोराछोरीले आफूले कमाएको रकमको १० प्रतिशत बाबुआमाको खातामा राख्नैपर्ने गरी कानुन बन्न लागेको बताउनुभयो । ‘यो ऐन अब लागु हुन्छ,’ मुख्यमन्त्री पौडेलले भन्नुभयो । उहाँले ओम बृद्धाश्रमका लागि १५ लाख छुट्याइएको जानकारी दिनुभयो ।

जनताको मन जिते सहयोग प्राप्त हुने भन्दै राम्रो काम गर्न उहाँले आग्रह गर्नुभयो । आश्रममा पारिवारिक वातावरण बनाए ज्येष्ठ नागरिक खुशी हुने उहाँको धारणा छ । कार्यक्रममा आश्रमलाई विभिन्न तहबाट सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । कार्यक्रममा आश्रम अध्यक्ष बुद्धिप्रसाद पौडेलले संस्थाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।