कोरेक्स खाएर आउनेलाई प्रहरीको ‘नमस्कार’


नेपाल समाचारपत्र, बाँके
प्रहरी, पत्रकार, पाइलट, वन अधिकृतले सीमावर्ती भारतीय शहर रुपैडिहामा गएर लागु औषध कोरेक्स खाएर आउँछन् भन्दा पत्याउनु हुन्छ ?
पक्कै पनि पत्याउनु हुन्न । किनकी, यी पेशाकर्मी समाजले इज्जत गरेको र अरुलाई बाटो देखाउनेमा पर्छन् । यस्तो सम्मानित पेशामा लागेको व्यक्तिले कहाँ त्यस्तो काम गर्ला र भन्ने तपाईलाई लाग्न सक्छ ।

तर होइन, नेपालगञ्ज नाकाबाट दैनिक नै रुपैडिहा पुगेर कोरेक्स खाएर आउनेमा यी पेशाका सम्मानित व्यक्तित्वहरु संलग्न रहेका छन् । यी चार थरी पेशाका सम्मानित व्यक्तित्वमध्ये प्रहरीको सरुवा भइसकेको छ । वन अधिकृत केही महिनादेखि नाकामा देखिएका छैनन् । पाइलट र पत्रकारको रुपैडिहा दौडाहा भने निरन्तर जारी रहेको छ ।

प्रहरी अधिकृत साँझपख मस्तले साइकलमा रुपैडिहा पुगेर कोरेक्स खाएर फर्किन्थे । सकेसम्म कसैले नचिनुन् भन्ने उनको ध्याउन्न हुन्थ्यो । वन अधिकृत त एक पटक नाइट्रोभेट नै बोकेर आउदा नाकामा समातिएका थिए । मुद्दा चलाएपछि जागीर जान्छ भनेर सबैले उनलाई ‘टिठ’ माने । अब लागु औषध प्रयोग नगर्ने शर्तमा लामो काउन्सिलिङ गरेर छोडियो । त्यसपछि उनले बोक्न छोडेपनि रुपैडिहा गएर खाएर आउन छोडेनन् । केही महिनायता उनी नाकातिर देखिएका छैनन् ।

एकजना पत्रकार छन् । उनी दिनमा २÷३ पटक नै रुपैडिहा पुग्छन् । मोटरसाइकलमा रुपैडिहा पुगेर कोरेक्स खाएर आउँछन् । ‘यो पत्रकार हो, रुपैडिहामा गएर कोरेक्स खाएर आउँछ । सधैं जान्छ,’ नाकामा पुग्ने जो कोहीलाई त्यहाँका प्रहरीले भन्ने गर्दछन् । कतिपय प्रहरीले उनलाई नमस्कार ठोक्ने गर्दछन् । राम्रो सम्बन्ध नराख्यो भने के के लेखिदिने हो भन्ने नाकामा रहेका प्रहरीको चिन्ता रहेको छ ।
पाइलट त कारमै जान्छन् । रुपैडिहामा गएर कोरेक्स खाएर आँखा रातो रातो पारेर फर्किन्छन् । नाकामा रहेको प्रहरीले थाहा पाएर पनि यिनीहरुलाई केही गर्दैन । बरु उल्टै उनीहरुले आफ्नो पेशा र ओहोदाको धाक लगाउने गरेका छन् ।

यी बाहेक दैनिक एक दर्जनबढी लागु औषधका पारखीहरु रुपैडिहामा पुगेर खाएर फर्किने गर्दछन् । प्रहरीले ‘माल’ बरामद गरेमात्रै कारबाही गर्ने गरेको छ । खाएर आउनेलाई कहिले काही काउन्सिलिङ गर्ने र घरपरिवारलाई बोलाएर जिम्मा लगाउने गर्दछ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका मुद्दाफाँटका इन्चार्ज रणबहादुर विष्टले आफूहरुसँग लागु औषध खाएको परीक्षण गर्ने मेसिन नभएकाले माल बरामद नहुनेलाई कारबाही गर्न नसकेको बताउनुभयो । ‘खाएर आउनेहरुलाई हामीले काउन्सिलिङ गरेर घरपरिवारको जिम्मा लगाउने गरेका छौं, प्रहरी निरीक्षक विष्टले भन्नुभयो ।

भारतबाट भित्रिने लागु औषध बाँके प्रहरीको प्रमुख चुनौतीको रुपमा रहेको छ । चलाख व्यक्तिहरुले नजिकैको सीमावर्ती बजारमा गएर खाएर आउने गर्दछन् । कारोबारीले नेपालगञ्ज, आसपासका शहर तथा राजधानीसम्म पठाउन ओसारपसार गर्छन् ।

पहाडी जिल्लाहरुबाट चरेश यही आइपुग्छ । बाँके प्रहरीले नेपाल भित्रिने कोरेक्स, ब्राउनसुगर, नाइट्रोभेट, नाइट्रोजेपाममात्रै होइन, पहाडी जिल्लाबाट भारततिर जाने चरेश, गाजा, अफिम नियन्त्रणमा जनशक्ति खर्चिनु परेको छ । बाँके प्रहरीको एक नम्बर चुनौतीमा यतिबेला लागु औषध परेको अधिकारीहरु बताउँछन् ।