नेप्सेको अनलाइन प्रणालीमा पूर्ण सुधारको अपेक्षा



अनलाइन प्रणालीमा गएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) कारोबारमा सहजता हुनेमा लगानीकर्ताहरु आशावादी थिए । तर यस प्रणालीमा देखिएको समस्या अझै पूर्णरुपमा समाधान हुन नसकेको देखिन्छ । नेप्से कारोबारमा निरन्तर समस्या आएपछि यतिखेर लगानीकर्ताहरु निराश भएका छन् ।

यसले गर्दा पर्याप्तरुपमा कारोबार पनि हुन सकेको देखिँदैन । अनलाइन प्रणालीमा गएपछि उत्साहित हुनुको साटो निरुत्साहित हुने स्थिति आउनु भनेको लज्जास्पद हो । नेपाल इन्भेस्टर फोरमले समेत नेप्सेको अनलाइन प्रणालीमा हरेक दिन नयाँ–नयाँ समस्या आएको भन्दै सुधार गर्न अल्टिमेटम दिएको समाचार छ । एक–दुई दिनभत्रै समाधान नभए आन्दोलन गर्ने चेतावनी पनि फोरमले दिएको छ । त्यसैले सम्बन्धित निकायले छिटोभन्दा छिटो यसको समाधान गर्नु जरुरी छ ।

नेपाल स्टक एक्सचेन्जले अधिकांश समस्या समाधान भइसकेको भन्दै प्राविधिकहरुले रातदिन काम गरेको जनाए पनि कतिपय समस्या यथावत् रहेको छ । त्यसैले यतिखेर पर्याप्त तयारी नगरेको तथा उत्पन्न समस्यालाई नेप्सेले हलुका तरिकाले हेरेको लगानीकर्ताको आरोप छ । अनलाइन प्रणालीमा समस्या हुँदा लगानीकर्तालाई शेयर खरिद–बिक्री गर्नसमेत अप्ठ्यारो परेको छ । कहिले डिस्प्ले नहुने, कहिले कारोबारकर्ताको विवरण नआउने तथा कहिले युनिक क्लाइन कोड (युसीसी) मा समस्या आउने गरेको उनीहरुको भनाइ छ ।

कारोबार प्रणालीमा भएको विवरण (एपीआई) मार्फत नेप्से वेबसाइटमा डिस्प्ले गर्दा डाटा एक्सेचन्जमा केही समस्या भएका कारण विवरण पठाउन नसक्दा सर्वसाधारणले वेबसाइटमार्फत अपडेट गरिएका सूचना पाउन सकेका थिएनन् तर हाल यो समस्या समाधान भइसकेको नेप्सेको दाबी छ । हुन त नयाँ प्रणालीमा जाँदा शुरुका दिनहरुमा केही न केही समस्या आउनु स्वाभाविक नै हो । तर पनि कारोबारमै असर पर्ने गरी समस्या देखिनु राम्रो होइन ।

काम गर्दै जाँदा के–के समस्या आइपर्छन्, लगानीकर्ता एवम् यससँग सम्बद्ध व्यक्तिहरुले नेपाल स्टक एक्सचेन्जलाई जानकारी गराउँदै जानुपर्छ । साथै नेपाल स्टक एक्सचेन्जले पनि प्राविधिकलाई ‘स्ट्यान्ड बाइ’ राखेर समस्या समाधान गर्दै जानुपर्छ । यतिखेर लगानीकर्तासहित यससँग सम्बद्ध सबैको अपेक्षा नेप्सेको अनलाइन प्रणालीमा पूर्णरुपमा सुधार होस् भन्ने छ । यसमा सम्बन्धित पक्षको पूर्णरुपमा ध्यान पुगोस् ।

प्रतिक्रिया दिनुहोस्