तीनदिने सिद्धिथुम्का महोत्सव जारी, आन्तरिक पर्यटकको आवागमनमा वृद्धि


गणेश घिमिरे, इलाम
ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आइतबारबाट इलामको देउमाई नगरपालिका स्थित शिद्धिथुम्कामा सुरु भएको सिद्धिथुम्का महोत्सवको दोस्रो दिन सोमबार पर्यटकहरुको आगमनमा उल्लेख्य बृद्धि भएको छ । जिल्लाका ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आइतबारबाट इलामको देउमाई नगरपालिका स्थित शिद्धिथुम्कामा सुरु भएको सिद्धिथुम्का महोत्सवको दोस्रो दिन पर्यटकहरुको आगमनमा उल्लेख्य बृद्धि भएको छ ।

जिल्लाका बिभिन्न स्थान सहित जिल्ला बाहिरका बिभिन्न जिल्ला झापा, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी लगायतका जिल्लाहरुबाट आन्तरीक पर्यटकहरु बढि मात्रामा आएको आयोजकले जनाएको छ । सिद्धिथुम्का सूर्योदय र सूर्यास्तसँगै हिमशृंखला र तराईका फाँट नियाल्न अब्बल मानिन्छ । यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि आइतबारदेखि मंगलबारसम्म तीनदिने महोत्सव आयोजना गरिएको हो । सुरुङ, भरना, थुम्काथुम्कीमा सजिएको चियाबारी, विभिन्न जातजातिको संस्कृतिले यो क्षेत्र घुम्नलायक छ ।

अन्तिम दिन मंंगलबासम्म चल्ने महोत्सवमा २० हजार बढि आन्तरीक पर्यटक भित्राउने आयोजकको विश्वास छ । १६९३ मिटरको उचाइमा रहेको सिद्धिथुम्काबाट सूर्योदय, सूर्यास्त, हिमश्रृंखला र पूर्वाञ्चलका थुप्रै भू–भाग राम्ररी देख्न सकिन्छ । इलाम सदरमुकामवाट १५ किमि पश्चिममा रहेको सिद्धिथुम्का पुग्ने सडकको सहज पहुँच भएसँगै आन्तरिक पर्यटकको संख्या पनि थपिँदो छ । सिद्धिथुम्काकै उत्तरतर्फको अजम्बरे डाँडाबाट हुने दृश्यावलोकनले पनि पर्यटकको मन तान्ने गरेको छ । यो डाँडाबाट जिल्लाका अधिकांश स्थानीय तह र वडा देख्न सकिन्छ ।

पञ्चमी बजार छेउको खान्द्रुङ गुफा पनि पर्यटकको आकर्षणको केन्द्रबिन्दु भएको छ । पत्रैपत्रको चट्टानले बनेको यो गुफामा देवीदेवता र जनावरका आकृति हेर्न सकिन्छ । विभिन्न द्वारबाट छिरेर गुफाको अवलोकनगर्न सकिन्छ । कोदोको रोटी, फिलुंगे, वाचिपा, किनामा, आलम, गुन्द्रुकको अचार र महलगायत स्थानीय उत्पादनको स्वाद स्थानीयले आगन्तुकलाई चखाएको महोत्सव आयोजक समितिका अध्यक्ष गोविन्द गुरागाइँले बताए । फाल्गुनन्द मन्दिर, पंखेलुङ झरना, सिद्धिदेवीको मन्दिरलगायत पनि आगन्तुकका लागि थप गन्तव्य बनेको छ । सिद्धिथुम्काको पर्यटन विकाससँगै यस क्षेत्रको विकास गर्न स्थानीय महोत्सवमा जुटेका हुन् । महोत्सव मंगलबारसम्म चल्नेछ ।

‘आन्तरिक पर्यटन प्रवद्र्धनमा जुटौं’ भन्ने नारा साथ सञ्चालित महोत्सवमा सांस्कृतिक कार्यक्रम पनि सञ्चालन भएको छ । महोत्सवमा प्रमुख आकर्षणका रूपमा सूर्योदय र सूर्यास्तको दृश्यावलोकनसहित सिद्धिथुम्का चुली, फुङफुङे झरना, ऐतिहासिक गुफा, मन्दिर, गुम्बा, देवीस्थान, प्राकृतिक, जैविक विविधताका साथै जातीय सांस्कृतिक नाचगान, स्थानीय खानपिनका परिकार छन । इलामको चुरे क्षेत्रको आकर्षक दृश्य पनि महत्वमा आउने पर्यटकले हेर्न सक्नेछन् । महोत्सवमा आउने पर्यटकलाई लाई स्थानीय होटलका साथै त्यहाँ रहेका घरहरुमा होमस्टेको अवधारणा अपनाएको आयोजकले जनाएको छ ।