बढी भाडा लिने सवारीलाई कारबाही


नेपाल समाचारपत्र, सल्यान
सल्यानमा सञ्चालित सार्बजनिक सवारी साधनहरुले मनपरी रुपमा भाडा लिने गरेको गुणासो बढ्दै गएपछि जिल्लामा सवारी चेकजाँचमा झन् कडाई गरिएको छ । ट्राफिक प्रहरी, नेपाल प्रहरी र शसस्त्र प्रहरीले अहिले जिल्लाका बिभिन्न स्थानहरुमा चेक प्वाईन्ट नै स्थापना गरेर चेकजाँचको कामलाई तिव्रता दिएका छन् । जिल्लाको श्रीनगर, कपुरकोट, थारमारे, सल्लीबजार लगाएतका ठाँउहरुमा सवारी चेकजाँच गरिन्छ ।

यसैबिच ट्राफिक प्रहरीले यात्रुसँग बढी भाडा लिने सवारी साधनलाई कारबाही गर्नुका साथै लिएको बढी भाडा सम्बन्धित व्यक्तिलाई फिर्ता गराएको छ । आईतबार मात्रै बालुवासंग्रही बाट श्रीनगरका लागी छुटेको यात्रुबाहक जीपलाई कारबाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रहरी जवान खेम केसीले नियम बिपरित रुपमा यात्रुहरु सँग धेरै भाडा असुलेका कारण कारबाही गरिएको बताउनुभयो ।

‘बालुवासंग्रहीबाट श्रीनगरको लागी भाडा २ सय ९७ रुपैँया हो, तर बालुवासंग्रहीबाट खलंगा सम्म ३ सय ५० रुपैँया यात्रुसँग भाडा असुलेको पाईयो’— उहाँले भन्नुभयो । यात्रुको भीडभाड हुने भएका कारण सवारीसाधनहरूले तोकिए भन्दा बढी भाडा लिएको उहाँले बताउनुभयो ।
बढी भाडा लिने जीपलाई कारबाही स्वरूप १ हजार ५ सय रुपैयाँ जरिवाना पनि गरिएको छ । सल्यान ट्राफिक प्रहरीले ठाउँ–ठाउँमा सवारी जाँचलाई प्राथमिकतामा राखेको छ ।

भाडादर सबै यात्रुले प्रस्ट देख्ने गरी गाडीहरूमा टाँस्न प्रहरीले निर्देशन पनि दिएको छ । साथै भाडादर नटाँस्ने र बढी भाडा लिने गाडीहरू कारबाहीमा पर्ने गरेका छन् । सवारी साधनले बढी भाडा लिएको भए सूचना दिन ट्राफिक प्रहरीले यात्रुलाई अपिल समेत गरेको छ ।