६ स्थानीय तहविरुद्ध अख्तियारमा उजुरी


किरन धामी, दार्चुला
दार्चुलाका ६ वटा स्थानिय तह विरुद्ध अख्तियारमा उजुरी परेको छ । स्थानिय तहहरुले गरेको कार्य सम्पादन, योजनाहरुको काममा गुणस्तर नभएको, ग्रामिण क्षेत्रका गाउँपालिकाहरुले जिल्ला सदरमुकाममा सम्पर्क कार्यालय खोलेको लगायतका आधारमा उजुरी परेको हो । पछिल्लो समय नागरिक सचेत हुँदै गएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्ने क्रम समेत बढेको पाइएको छ ।

जिल्लाका ९ वटा स्थानीय तह मध्ये ६ स्थानीय तहले सञ्चालन गरेका योजनाहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सबै भन्दा बढि मालिकार्जुन गाउँपालिकाको नाममा उजुरी परेका छन् । ब्याँस गाउँपालिकाको नाममा कर्मचारीले गैरकानुनी तवरले व्यक्तिगत खातामा रकम राखेर बजेट जम्मा गरेको तथा लेखापाल र कार्यकारी अधिकृत सदरमुकाम खलंगामै सम्पर्क कार्यालय खोलेर सेवा प्रवाह गरेको भन्दै उजुरी परेको छ ।

ब्याँस गाउँपालिका र अपी हिमाल गाउँपालिकाले सदरमुकाम खलंगाबाटै एक वर्षको अवधिमा कार्यसम्पादन गरेको भन्दै उजुरी परेको छ । सिंहदरबारको अधिकार गाउँमा भनेपनि यी दुवै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखापाल जिल्लामै सम्पर्क कार्यालय खोलेर सेवा प्रवाह गर्दा नागरिकले सास्ती खेप्नुपरको भन्दै उजुरी परेको हो ।

ब्याँस गाउँपालिकाले खलंगास्थित राजाकोट युवाक्लवको कार्यालयमा बसेर कार्य सम्पादन गर्ने गरेको थियो । यस्तै अपी हिमाल गाउँपालिकाले सदरमुकाम खलंगा बाटै कार्य सम्पादन गरेको थियो । यी दुवै गाउँपालिकाले कार्यपालिकाको निर्णय नगरेको तथा कार्यविधि नबनाएरै घर भाडा लिएर पैसा भुक्तानी गरेका थिए । यसका साथै अपी हिमाल गाउँपालिकाले साल्ट टे«डिङ कार्यालयबाट नुन खरिद गरि अनियमितता गरेको भन्दै उजुरी परेको छ । स्थानीय सरकार गठन भएपछि गाउँपालिकाले जनतालाई सुलभ मूल्यमा नुन खुवाउने भन्दै खरिद गरी ढुवानी गरेको थियो ।

यस्तै आन्तरिक स्रोत नभएको अवस्थामा अपी स्वयंसेवकको नाममा ५८ जना स्वयंसेवक भर्ना गरी पुजीगत खर्चबाट तलब भुक्तानी गरिएको भन्दै उजुरी परेको जिल्ला समन्वय समितिले जनाएको छ । यसैगरी दुहुँ गाउँपालिकाले आर्थिक वर्ष ०७४÷०७५ को कृषि सामाग्री खरिद गर्दा कार्यालयमा सामान दाखिला नगरी बील भुक्तानी गरेको भन्दै उजुरी परेको छ । गाउँपालिकाले कृषकको लागि खरिद गरिएका सामान खलंगामै हुँदा रकम भुक्तानी गरेको उजुरी परेको जिल्ला समन्वय समितिका सुचना अधिकृत बीरसिह धामीले जानकारी दिए ।

यस्तै शैल्यशिखर नगरपालिकाले मेसनरी औजार खरिदमा अनियमितता गरेको तथा निर्माण कार्यमा कार्यसम्पन्न नगर्दै रकम भुक्तानी गरेको भन्दै अख्तियारमा उजुरी परेको छ । सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकाको खलंगा प्रहरी गेटदेखि महेन्द्र नमूना मावि खलंगाको गेटसम्म गरिएको पिसिसी बाटो निर्माणमा कमसल र गुणस्तरहिन काम गरेको भन्दै उजुरी परेको छ । उक्त बाटो निर्माणमा ४३ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।

सबैभन्दा बढि उजुरी परेको मालिकार्जुन गाउँपालिकाको वडा नम्बर १ को नाममा बढि उजुरी परेको सूचना अधिकृत धामीले बताए । वडा नम्बर १ को चुनाराधारा खानेपानी योजना निर्माणमा स्टेमट अनुसार काम नगरी विनियोजित रकम खर्च गरेर अनियमिता गरेको भन्दै उजुरी परेको छ । सोहि वडाको मल्ली खानी ब्रह्ममन्दिर निर्माणमा छुट्याएको बजेटमा अनियमितता गरेको भन्दै उजुरी परेको छ । निर्माण गर्नुपर्ने ठाउँमा मर्मत गरेर साढे पाँच लाख रुपैयाँ भुक्तानी भएको भन्दै उजुरी परेको समन्वय समितिले जनाएको छ ।

सोहि वडाको सन्नेखानी घट्ट, खानेपानी मर्मत र दुलीधार खानेपानी पाइप खरिदमा अनियमितता भएको उजुरी परेको छ । वडा नम्बर ६ को आधारभूत विद्यालय खेलीको विद्यालयमा विनियोजन गरिएको एक लाख रुपैयाँ हिनामिना भएको भन्दै उजुरी परेको छ । सरस्वती मावि उकुमा खेल मैदान र गेट निर्माणको नाममा लाखौ रकम भुक्तानी गरेर विद्यालयले अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी परेको छ ।
गाउँपालिकाले खेलकुद मैदान निर्माणको लागि ४ लाख ५० हजार, सोहि विद्यालयको खेल मैदान मर्मतको लागि एक लाख एक हजार, खेल मैदानको घेर पर्खालमा चार लाख ९९ हजार र महाकाली करिडोरले समेत सोहि पर्खालमा बजेट विनियोजन गरि रकम हिनामिना गरेको भन्दै उजुरी परेको हो ।

यस्तै वडा नम्बर ६ कै बाकु नहर निर्माणमा काम नगरी भुक्तानी भएको भन्दै उजुरी परेको छ । अहिले सम्म अख्तियारबाट आएका उजुरीलाई सम्बन्धित गाउँपालिका र नगरपालिकामा उजुरी उपर के भएको छ भन्ने बारेमा पत्रचार गरिएको सुचना अधिकारीले धामीले बताए । ‘अख्तियारको पत्रसहित हामीले थप पत्र लेखेर पठाएका छौ, धामीले भने’ । पछिल्लो समय स्थानीय तहहरुले ऐन कानुन र कार्यविधि नबनाएरै बजेट खर्च गर्दा उजुरी बढेको जिल्ला समन्वय समितिका प्रमुख करविर बहादुर कार्कीले बताए ।