इरानमाथिको नाकाबन्दी तोडेर देखाउँछु ः रुहानी


तेहरान, (एजेन्सी)
इरानका राष्ट्रपति हस्सन रुहानीले सोमबार आफ्नो राष्ट्रको अर्थतन्त्रको प्रमुख भागमाथि लक्षित गर्दै संयुक्त राज्य अमेरिकाले पछिल्लो समयमा लगाएको नाकाबन्दीलाई तोड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले सन् २०१५ मा इरानसँग भएको शक्तिशाली बहुराष्ट्र समूहले गरेको ऐतिहासिक आणविक सम्झौताका क्रममा फुकुवा गरिएका सम्पूर्ण नाकाबन्दी पुनः लागू गरेको हो। ती नाकाबन्दीअनुसार इरानले तेल निर्यात, सिपिङ बैंक कारोबारलगायतका काम गर्न नपाउने भएको छ।

तर अहिले रुहानीले इरानले कुनै पनि हालतमा तेल बिक्री नरोक्ने बताएका छन्। अर्थसम्बन्धी अधिकारीहरूसँगको बैठकको दौरान रुहानीले गर्वका साथ इरानले आफूमाथि लगाइएका सम्पूर्ण नाकाबन्दी तोड्ने बताएका हुन्।

तर इरानलाई आणविक हातहतियार विकास कार्यक्रमबाट निरुत्साहित बनाउने आशा बोकेका तथा अझै पनि सन् २०१५ को सम्झौतालाई मान्यता दिइरहेका युरोपेली संघ (ईयु) का सदस्य राष्ट्रले भने नाकाबन्दीलाई बाइपास गर्दै आफूहरूले इरानलाई सहयोग गर्ने जनाएका छन्।

तर युरोपेली संघको प्रयास कति हदसम्म सफल हुने भन्ने शंकै रहेको अन्तर्राष्ट्रिय राजनीतिक विश्लेषकहरूले बताएका छन्। अहिलेसम्मकै सबैभन्दा खराब सम्झौता भन्दै यसै वर्षको शुरूमा ट्रम्प सरकार इरानसँगको सम्झौताबाट अलग्गिएको थियो।

अन्तर्राष्ट्रिय आणविक उर्जा निकाय (आईएईए) ले इरानले सो सम्झौताका बुँदाहरूको पालना गर्दै आएको जनाएको थियो। तर ट्रम्पले भने आफूले इरानलाई पुनः आणविक वार्ताको टेबुलमा ल्याउन चाहेको बताएका छन्।