क्युबाका राष्ट्रपति डायज केनेल उत्तर कोरियाको भ्रमणमा


प्योङयाङ, (एजेन्सी)
अमेरिकी आर्थिक नाकाबन्दी हट्न आशा गरिरहेका उत्तर कोरियाली नेता र क्युबाली राष्ट्रपति मिगुयल डायज केनेलबीच रणनीतिक सम्बन्ध विस्तार र मजबुत बनाउन सहमति भएको उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ।

गत अप्रिलमा कार्यभार सम्हालेपछिको पहिलो अन्तर्राष्ट्रिय भ्रमणका क्रममा डायज केनेल आइतबार आफ्नी पत्नीसँग प्योङयाङ पुगेका थिए। विनास्थलमा उनलाई किम आफैंले स्वागत गरेका थिए। सडकका पेटीमा फूलका गुच्छा बोकेका भीडले चिच्याउँदै राष्ट्रपति डायज केनेलको भव्य स्वागत गरेका थिए।

ती दुईबीज सरकारी गेस्टहाउस पायख्वावनमा वार्ता भएको उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले जनाएको छ। दुई नेताले उनीहरूको समाजवादी इतिहासको चर्चा गर्दै एकअर्काप्रति ऐक्यबद्धताका लागि प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ। वार्ता अत्यन्त सौहार्द र मैत्रीपूर्ण वातावरणमा भएको सरकारी माध्यमले जनाएको छ।

किमसँगको यो बैठकलाई वासिङ्टनका लागि नसिहतका रूपमा लिइएको छ। परमाणु निशस्त्रीकरण मुद्दामा पर्याप्त प्रगतिका लागि कसरत गरिरहेको वासिङ्टनलाई उत्तरबाट कठिनाइ आइरहेको छ। अर्को हप्ता अमेरिकी विदेशमन्त्री माइक पोम्पियो र उत्तर कोरियाका प्रमुख वार्ताकार किम योङ चोलबीच हुने भनिएको वार्ताअगाडि हालै मात्र सुटुक्क मस्कोसँग छलफल गरेका प्योङयाङले उक्त मुद्दामा कडा नीति लिएको जनाइएको छ।

यसअघि मस्को पुगेका डायज केनेलले रुससँग ५ करोड डलरको हतियार खरिद गर्ने विषयमा छलफल गरेका थिए। उनी पुटिनबाट राजनीतिक, आर्थिक र सैन्य सम्बन्ध विस्तारका लागि प्रतिबद्धता पनि प्राप्त गर्न सफल भएका छन्। पुटिनसँगको संयुक्त विज्ञप्तिमा आन्तरिक मामिलामा हुने गरेको हस्तक्षेपका लागि अमेरिकाको निन्दा गरिएको थियो।

अमेरिका सन् १९५८ देखि नै क्युबामाथि आर्थिक नाकाबन्दी लगाउन शुरू गरेको र त्यसलाई निरन्तर बढाउँदै लगेको थियो। रुसले पनि क्रिमिया विलय तथा पूर्वी युक्रेनमा पृथकतावादी विद्रोहीलाई उसको समर्थनलाई लिएर अमेरिका र युरोपको नाकाबन्दी खेपिरहेको छ।

डायज केनेल मंगलबार प्योङयाङ भ्रमण टुंग्याउँदै चीन, भियतनाम र लाओस भ्रमणका लागि त्यहाँबाट प्रस्थान गर्ने बताइएको छ।