पत्रकार जमालका पुत्र आफ्ना पिताको शव माग्दै


रियाद, (एजेन्सी)
हत्या गरिएका साउदी पत्रकार जमाल खासोगीका छोराले अमेरिकी टेलिभिजन सीएनएनलाई अन्तर्वार्ता दिने क्रममा परिवारले विधि पुर्याएर शोक मनाउनका लागि साउदी सरकारी निकायसँग आफ्ना पिताको शव मागेको बताएका छन्।

साउदी सरकारका कट्टर आलोचक मानिने खासोगीले अमेरिकी अखबार वासिङ्टन पोस्टमा पनि लेख्ने गरेका थिए।

उनको २ अक्टोबरमा टर्कीको राजधानी इस्तानबुलस्थित साउदी कुटनीतिक नियोगभित्र हत्या भएको थियो। तुर्केली राष्ट्रपति तायिप रिसेप एर्दोगानले साउदी एजेन्टहरूबाटै उनको हत्या भएको आरोप लगाएका थिए।
जमालका पुत्र अब्दुल्लाह खासोगीले आइतबार वासिङ्टनमा अन्तर्वार्ता दिने क्रममा भनेका छन्– ‘मलाई लाग्छ उनलाई मृत्यु त्यति पीडादायक रहेन होला। शायद उनको हत्या निकै छिटो गरिएको हुनुपर्छ।’

त्यसै गरी उनका भाइ सालाहले भनेका छन्– ‘अब हाम्रो अन्तिम इच्छा भनेको नै उनको शवलाई मदिनाको अल बाकीमा परिवारको अन्य सदस्यहरूको समाधिनजिकै समाधिस्थ गर्नु रहेको छ।

मैले यसका लागि साउदी निकायहरूसँग कुरा गरिसकेको छु। सम्भवत चाँडै नै हामीले उनको शव प्राप्त गर्नेछौं। साउदी अरेबिया छोड्नुभन्दा केही समयअघि मात्र युवराज मोहमद बिन सलमानसँग मैले हात मिलाउनुलाई सञ्चारमाध्यमले गलत प्रचारप्रसार गरेको छ।’

यसैबीच एकजना तुर्केली वरिष्ठ अधिकारीले इस्तानबुलको नियोगमा जमालको हत्या भएलगत्तै साउदी अरेबियाले एकजना विशेष विशेषज्ञ र एकजना रसायनविदलाई सो नियोगमा पठाएको सोमबार बीबीसीलाई बताएका छन्। तुर्केली अनुसन्धानकर्ताले जमालको घाँटी थिचेर हत्या गरिसकेकपछि शरीर टुक्राटुक्रा पारिएको दाबी गरेका थिए।