राजपाक्षेलाई प्रधानमन्त्री मान्न सकिन्न ः सभामुख


कोलोम्बो, (एजेन्सी)
श्रीलंकाका सभामुख कारु जयसूर्याले संसद्मा आफ्नो बहुमत प्रमाणित नगरेसम्म महिन्दा राजपाक्षेलाई देशको प्रधानमन्त्री मान्न नसक्ने बताएका छन्।

उनले यसअघि नै रानिल विक्रमसिंघेलाई प्रधानमन्त्री पदबाट बर्खास्त गर्ने राष्ट्रपतिको कदमलाई असंवैधानिक भएको बताएका हो। राष्ट्रपति मैत्रीपाला सिरिसेनाले अक्टोबर २६ मा रानिल विक्रमसिंघेलाई बर्खास्त गरी देशको नयाँ प्रधानमन्त्री राजपाक्षेलाई बनाएका थिए। सिरिसेनाको उक्त कदमको आलोचना देशका प्रायः राजनीतिक दलहरूले गरिरहेका छन्।

कारु जयसूर्याले देशको स्थितिका बारेमा अवगत गराउँदै भने– ‘म संसद्का सबै सदस्यसँग हालैको परिवर्तनलाई नजरअन्दाज गरी अक्टोबर २६ अगाडिको व्यवस्थालाई स्वीकार गर्न अनुरोध गर्दछु। जबसम्म अर्को दलले बहुमत प्रमाणित गर्दैन, तबसम्मका लागि पूर्ववर्ती व्यवस्था नै मान्य भएको बुझ्नुपर्नेछ।’

यसैबीच प्रधानमन्त्रीका रूपमा राष्ट्रपतिद्वारा मनोनित महिन्दा राजपाक्षेका हजारौं समर्थक उनको विवादास्पद नियुक्तिको समर्थनमा आयोजना हुन लागेको र्यालीमा सहभागी बन्न राजधानी आइरहेका छन्। राजपाक्षेको उक्त नियुक्तिले श्रीलंकामा संवैधानिक संकट खडा गरेको बताइएको छ।