हेटौंडा,(नेस) ।
थाहा नगरपालिकामा ग्रामीण स्वास्थ्य सुधारका लागि आधारभूत अनुसन्धान हुने भएको छ । त्यहाँ भएको अन्तत्र्रिmयाले यस्तो निष्कर्ष निकालेको हो ।
थाहानगरका साबिक वडा–११, १२, १३, १४ र १५ (हाल वडा नम्बर–१, ५ र ६) मा ग्रामीण स्वास्थ्य सुधारका लागि आधारभूत अनुसन्धान हुने भएको छ ।
सुस्वास्थ्य नेपालको आयोजनामा भएको अन्तत्र्रि यामा सुस्वास्थ्य नेपाल अध्यक्ष छिरिङ शेर्पाले आधारभूत अनुसन्धानका लागि स्वीकृति प्राप्त भएर तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो ।
उहाँका अनुसार अनुसन्धानले नसर्ने रोगहरु बारे जानकारी संकलन गर्नेछ । अनुसन्धानले भविष्यका योजनाका आधार पत्ता लगाउन, नसर्ने रोगबारे योजना बनाउन, जीवनशैली परिवर्तन गर्न मद्धत गर्ने जनाइएको छ । अन्तत्र्रिmयामा नगर प्रमुख लवशेर बिष्टले जनताको स्वास्थ्यमा सुधार ल्याउन नगरपालिका हातेमालो गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
पछिल्लो समयमा नेपाली समाजमा नसर्ने रोगको जोखिम उच्च हुँदै गएको छ । विश्व स्वास्थ्य संगठनले सन् २००० मा गरेको सर्वेक्षणअनुसार सर्ने रोग ७० प्रतिशत र नसर्ने रोग ३० प्रतिशत रहेकोमा हाल नसर्ने रोग बढेर ६० प्रतिशतभन्दा माथि र सर्ने रोग घटेर ४० प्रतिशतभन्दा तल झरेको छ ।
अस्पतालका बहिरंग सेवामा सेवा लिन पुगेका बिरामीमध्ये ८१ प्रतिशत नसर्ने रोगका बिरामी हुने गरेका छन् । कार्यक्रममा नसर्ने रोग रोकथाम गर्न विशेष कार्यक्रम सञ्चालन नगरिए भयावह हुनसक्ने जानकारी दिइयो । मुटु, मिर्गौला, क्यान्सर, मधुमेह, रक्तचाप तथा श्वासप्रश्वासजस्ता रोगी पछिल्लो समय बढिरहेका छन् । एक अध्ययनमा १८ वर्षमाथिका वयस्कमा उच्च रक्तचाप २३ प्रतिशत छ । कुल मृत्युको ५१ प्रतिशत कारण नसर्ने रोग बनिरहेको छ ।
कुपोषण, मातृ तथा शिशु मृत्यु, सडक दुर्घटना तथा चोटपटकले हुने मृत्युको प्रतिशत ४९ मात्र छ । सर्ने तथा नसर्ने रोगबाट मृत्युका यी तथ्यांकले स्वास्थ्य सेवामा गम्भीर असर पार्नेसमेत विज्ञले जनाएका छन् ।
सुस्वास्थ्य नेपालले थाहानगरको बज्रबाराहीमा स्वास्थ्य चौकी र टिष्टुङ स्वास्थ्य चौकीबाट अकुपञ्चर सेवा प्रदान गर्दै आएको छ ।
सुस्वास्थ्य नेपालको मातहतमा रहेर पूर्ण छात्रवृत्तिमा मकवानपुरका ४ जनाले डाक्टर पढिरहेको र उनीहरुले पछि ग्रामीण क्षेत्रमा आएर सेवा/सुविधा प्रदान गर्ने अध्यक्ष शेर्पाले बताए ।











प्रतिक्रिया