मनोज भट्ट, महेन्द्रनगर ।
बलात्कार पछि हत्या गरिएकी कञ्चनपुर की १३ बर्षीय बालिका निर्मला पन्तको परिवार छोरीको न्यायका लागि धर्ना बस्ने भएको छ । आइतवार आफ्नै निवास भीमदत्त नगरपालिका– २ मा पत्रकार सम्मेलन गर्दै निर्मलाका आमाबुवाले तिहार सम्म पनि हत्यारा सार्वजनिक नगरिए धर्नामा बस्ने घोषणा गरेका हुन ।
तिहारसम्म पनि हत्यारालाई पहिचान गरि कानुनको दायरामा नलिए कार्तिक २५ गतेदेखि जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बस्ने निर्मलाका बुवा यज्ञराज पन्तले बताए ।
घटना घटेको तीन महिना भन्दा बढि समय भइसक्दा पनि आफुहरुले न्याय नपाएको भन्दै उनले दुखेसो पनि पोखे । छोरीले न्याय नपाएसम्म जस्तो सुकै कदम चाल्न पनि आफुहरु तयार रहेको निर्मलाका बुवा यज्ञराजले सुनाए ।
गत साउन १० मा ‘होमवर्क’ गर्न भनेर साथीको घर गएकी भीमदत्त नगरपालिका–२ की १३ बर्षीय निर्मला पन्तको अर्को दिन बलात्कार पछि हत्या गरिएको अवस्थामा उखुवारीमा शव फेला परेको थियो ।
सुरुवाती देखि नै स्थानिय, महिला अधिकारकर्मी, नागरिक समाज, निर्मलाको परिवार घटनाको सत्य, तथ्य बाहिर ल्यानु पर्ने माग गर्दैै आन्दोलन गर्दै आएका छन् ।
घटना घटेको तीन महिना भन्दा बढि समय भइसक्दा पनि हत्याराको पहिचान हुन सकेको छैन । घटनाको अनुसन्धानका लागि सातवटा छानबिन टोली गठन भए पनि प्रहरीको अनुसन्धान ‘कुहिरोको काग’ जस्तै बनेको छ ।











प्रतिक्रिया