निशुल्क पलास्टिक सर्जरी शिविरमा २५ जनाको सल्यक्रिया

0
Shares

धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको चौरजहारीमा सञ्चालित तीनदिने निशुल्क पलास्टिक सर्जरी शिविरमा २५ जनाकोे सफल शल्यक्रिया गरिएको छ । जन्मजात ओठ तथा तालु फाटेका र आगोले पोलेर शरिरको एक भाग अर्काे भाग संग जोडिएर शरीर संकुचन भएका व्यक्तिको सफल शल्यक्रिया गरिएको हो ।

शिविरमा रुकुम, सल्यान र जाजरकोट जिल्लाबाट आएका ४१ मध्ये २५ जनाको सफल शल्यक्रिया गरिएको शिविरका संयोजक बद्री राईमाझीले जाकारी दिनुभयो । उहाँका अनुसार भौगोलिक विकटता र आर्थिक रुपले जिल्ला बाहिर गएर उपचार गर्न नसक्ने व्यक्तिलाई लक्षित गरी निशुल्क सेवा प्रदान गरिएको बताईएको छ ।

शिविरमा प्लास्टिक सर्जरी गर्न संभव भएका व्यक्तिको मात्र सफल सल्यक्रिया गरिएको जनाईएको छ । चौरजहारी नगरपालिकाको आर्थिक सहयोग तथा कल्याणकारी अपाङ्ग सेवा संघ सल्यान र स्थानीय सिबिआरको आयोजनामा शिविर संचालन गरिएको हो । शिविरको प्राविधिक सहयोग किर्तिपूर अस्पताल काठमाडौंले गरेको थियो ।

शनिबार सकिएको शिविर समापनमा बोल्दै चौरजहारी नगरपालिकाका नगरप्रमुख विशाल शर्माले निशुल्क पलास्टिक सर्जरी शिविरले यसक्षेत्रका नागरिकलाई सहयोग पुगेको बताउनुभयो । उहाँले शिविरमा संलग्न चिकित्सक मंगल घर्तिमगर, विनोद कर्ण, कपिल पोखरेल र कालेव वुढा लगायतलाई सम्मान प्रत्र समेत प्रदान गर्नुभयो ।