किरन धामी, दार्चुला,
हिमाली जिल्ला दार्चुला र हुम्लामा भारी हिमपात भएको छ । दर्चुलाको ब्याँस गाउँपालिका वडा नम्बर १ तिंकर र सितापुलमा हिमपात भएको छ । शनिबार विहानबाट मौसम बदली भई वर्षाका साथै हिमपात भएको हो । दार्चुला जिल्लामा यसवर्ष दुई पटक हिमपात भएको छ । जिल्लाको तिंकरको उच्च भेगमा गत असोजमै हिमपात भएको थियो, भने यसपटक सितापुलमा समेत हिमपात भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
शनिबार रातभरी वर्षा भएका कारण जिल्लाका हिमाली उच्च भेगहरुमा हिमपात भएको हो । जिल्लाका उच्च हिमाली भेगहरुमा हिमपात भए संगै सदरमुकाम लगायत ग्रामिण क्षेत्रहरुमा चिसो बढेको छ । यो वर्षको कात्तिकमा अर्थात गहुँ छर्ने बेला भएको वर्षाले भने जिल्लाका सिचाई नहुने क्षेत्रका किसानलाई भने राहत भएको छ ।
गहुँ छर्ने बेला वर्षा भएको भन्दै किसानहरु हर्षित भएका छन् । शनिबार विहानै दखी जिल्लाको जनजिवन प्रभावित भएको भए पनि आइतबार भने घाम लागेको छ ।
हुम्लामा हिमपात
हिमाली जिल्ला हुम्लामा आज बिहानबाट हिमपात शुरु भएको छ । गएका वर्षहरूमा पुस महीनाबाट हिमपात शुरु हुने गर्दथ्यो भने यो वर्ष कात्तिकमै हिमपात हुन थालेको छ ।
आइतबार बिहानबाट शुरु भएको हिमपात यो वर्षको पहिलो पटकको हिमपात हो । हिमपातसँगै हुम्लामा चिसो बढ्दै गएको छ भने तापक्रम माइनसमा झरेको छ । शनिबार दिउँसोबाट आकाशलाई बादलले ढाकेको थियो भने आइतबार बिहान ७ बजेबाट हुम्लामा हिमपात हुनथालेको हो ।
यो वर्ष कात्तिकमा परेको हिमपातले बालीनाली घर नभित्र्याएका कारण किसान चिन्तित बनेका छन् । कात्तिकमा परेको हिमपातले फलफूलमा समेत असर पुग्ने भएको सिमकोट निवासी कमल भण्डारीले बताउनुभयो । आइतबार सिमकोटको तापक्रम माइनस ६ डिग्रीमा झरेको छ ।











प्रतिक्रिया