अब गर्भवतीकोे तथ्यांक मोबाइलबाटै

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
मातृमृत्यु र बालमृत्युदरमा कमी ल्याउनका लागि गर्भवती महिलाको नामदर्ता गराउने र उनीहरुलाई एसएमएस मार्फत नै गर्भजाँच र सुत्केरीका लागि निम्तो दिन थालिएको छ ।

बैतडीका विभिन्न स्थानीय तहका महिला स्वास्थ्य स्वयंसेविकाहरुले मोबाइल मार्फत गर्भवती महिला र सुत्केरी हुने महिलालाई स्वास्थ्य संस्थामा पुर्याउन सहयोग गरिरहेका छन् ।
महिला स्वास्थ्य स्वयंसेविकाहरुले मोबाइल प्राप्त गरेपछि गर्भजाँच गराउने र स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलाहरुका लागि सजिलो भएको छ ।

संस्थागत सुत्केरी र गर्भजाँच गराउनेको संख्यामा वृद्धि नभएपनि मोबाइलबाटै नाम दर्ता गराउनेको संख्या पनि बढेको जिल्ला स्वासथ्य कार्यालय बैतडीका परिवारनियोजन सुपरभाईजर डिल्लीरमण जोसीले जानकारी दिए । अहिले ९० प्रतिशत गर्भवती महिलाको नाम महिला स्वास्थ्य स्वयंसेविकाहरुले मोबाइलबाटै दर्ता गरेका छ ।

जिल्ला स्वास्थ्य कार्यालयले मेडिक मोबाइलसंगको सहकार्यमा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई मोबाइल प्रदान गरेपछि उनीहरुले एसएमएस मार्फत गर्भवती महिलाको नामदर्ता गराउने र उनीहरुलाई एसएमएस मार्फत नै गर्भजाँच र सुत्केरीका लागि निम्तो दिने गरिएको जिल्ला स्वासथ्य कार्यालय बैतडीले जनाएको छ ।

जिल्लाका ८३१ ओटै महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई मोबाइल वितरण गरिएको र स्थानीय तहहरुले उनीहरुको मोबाइलमा रिचार्ज गरिदिने गरेको छ ।

स्वयंसेविकाहरुले आफूसंग भएको मोबाइलमा गर्भवती महिलाको नाम इन्ट्री गर्ने बित्तिकै जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकमा उनीहरुको नाम इन्ट्री हुने र गर्भवती महिलालाई चार,६,८ र ९ महिनामा गर्भजाँच गराउनका लागि महिला स्वास्थ्य स्वयंसेविकाको मोबाइलमा म्यासेज जाने गर्दछ । सोही म्यासेजको आधारमा महिला स्वास्थ्य स्वयंसेविकाहरुले महिलाहरुलाई गर्भजाँच र सुत्केरी गराउन स्वास्थ्य संस्थामा पठाउने गरेको परिवार नियोजन सुपरभाईजर जोसीले जानकारी दिए ।

आफूहरुले मोबाइल मार्फत एसएमएस पठाउँदा र पाउँदा गर्भवती महिला तथा सुत्केरी हुने समय पुगेका महिलालाई स्वास्थ्य संस्थामा पठाउन सजिलो भएको श्रीकोटका महिला स्वास्थ्य स्वयंसेविका गोमती विष्टले बताईन् । उनले भनिन्“ आफूहरुले स्वास्थ्य संस्थामा महिलाहरुलाई पठाउन सजिलो भएको छ” मोबाइल मार्फत एसएमएस जान थालेपछि पहिला पहिला स्वास्थ्य संस्थामा नआउनेहरु पनि गर्भजाँचका लागि स्वास्थ्य संस्थामा आउने गरेका छन् । मातृमृत्यु र बालमृत्युदरमा कमी ल्याउनका लागि यो कार्यक्रम सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

मोबाइलबाटै गर्भवतीको नाम दर्ता गर्न र स्वास्थ्य सेवामा पहुँच पुर्याउन सजिलो भएको छ ।