तिहारको बहानामा चाँदीको तस्करी


कृष्णउदास खनाल, वीरगन्ज
पर्सा प्रहरीले वेवारिसे अवस्थामा रहेको साँढे १४ किलो चाँदीका गहना बरामद गरेको छ ।

प्रहरीले वीरगन्जबाट मिसावट चाँदीको गहना बरामद गरेको हो । वीरगन्ज–१४ गण्डक चोकमा प्रहरीले याुत्रवाहक बस रोकेर चेकजाच गर्ने क्रममा ६ लाख २७ हजार पाच सय ९० रुपैयाँ मूल्य बराबरको १४ किलो ६ सय ७५ ग्राम तौलको चाँदीका गहना वेवारिसे अवस्थामा बरामद गरेको हो ।

सुराकीले दिएको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले वीरगन्जबाट पथलैया तर्फ जादै गरेको ना २ ख ३९७९ नम्बरको बसमा चेकजाच गर्दा बसको प्यासेजमा वेवारिसे अवस्थामा रहेको खरानी रंगको झोला भित्र पाउजु, बाला,सिक्री, झुम्का लगायतका चाँदीका विभिन्न प्रकारका गरगहना भेटिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

बरामद चाँदीका गरगहना, आवश्यक कार्वाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा पठाइएको प्रहरी उपरिक्षक ढकालले बताए । गहना बेवारिसे भनिएपनि धनीलाई भगाउन प्रहरीले भूमिका निर्वाह गरेको सुनचाँदी ब्यवसायी संघ पर्साका सचिव प्रवेश सर्राफले बताए ।
उनले बरामद गरिएको चाँदीको मुल्य समेत प्रहरीले घटाएको बताए ।

वीरगन्ज नाका भएर पछिल्ला दिनमा चाँदीको फेरि तस्करी हुने. गरेको पाइएको छ । तिहारको मौका छोपेर तस्करहरुले अहिले गहनाको तस्करी गरेका हुन्। तर,सुनचाँदी ब्यवसायी संघ पर्साका अध्यक्ष निरज सरार्फले भने प्रहरीले अनावश्यक रुपमा दुःख दिने कार्य गरेको जिकिर गरे ।