खासोगीको शव तेजाबमा हालेको टर्कीको आरोप


अंकारा (एजेन्सी)
टर्कीले साउदी वाणिज्य दुतावासमा हत्या भएका साउदी पत्रकार जमाल खसोगीको शव तेजाबमा हालेको आरोप लगाएको छ । साउदी अधिकारीहरुले खसोगीको शव काटेर तेजाबमा हालेको टर्कीका वरिष्ठ अधिकारी यासिन आकतायले बताएका छन् ।

कुनै प्रमाण फेला पर्न नदिन खसोगीको हत्या गर्नेहरुले उनको शव यसरी नै नस्ट गरेको हुन सक्ने एक मात्र तर्क पुर्ण निष्कर्ष रहेको आकतायले बताए । यद्यपी खासोगीको शव तेजाबमा हालेको प्रमाणित गर्ने कुनै फोरेन्सिक प्रमाण फेला परेको छैन ।

आकतायले हुर्रियत नामको अखबारलाई लिएको अन्तरवार्तामा भने ( उनीहरुले खासोगीको अवशेषहरु सहजै मेटाउन उनको शवका टुक्राहरु तेजाबमा हालेको हुन सक्छ ।

यसैबीच टर्कीका राष्ट्र्र्पति रिसेप तयैप अर्दोगानले पहिलो पटक साउदी अरेबियाको सरकारमाथि पत्रकार जमाल खासोगीको हत्याको आरोप लगाएको छन् ।

उनले वासिंगटन पोस्टमा लेखेको एक लेखमा भनेका छन् ( हामीलाई थाहा छ खासोगीको हत्याको आदेश साउदी सरकारका सबैभन्दा उच्च ओहोदाबाट आएको हो ।


यद्यपी उनले टर्कीसँग साउदीको मैत्री सम्बन्धमा जोड दिँदै यसमा साउदी नरेस सलमानको कुनै भुमिका नरहेकोमा आफुलाई विश्वास भएको बताए । तर यसको अर्थ टर्की एक पत्रकारको हत्यामा आफनो आँखा बन्द बस्छ भन्ने नभएको उनले बताए ।

अर्दोगानले वासिंगटन पोस्टमा लेखेको उक्त लेखमा उनीहरु हत्या लुकाउने प्रयासमा रहेको पनि उल्लेख गरेको छ ।
उक्त हत्याका पछाडी हात रहेकाहरुको खुलासा गर्नु अन्तराष्ट्रिय समुदायको जिम्मेवारी भएको उनले बताए ।

साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले अमेरिकासँग जमाल खासोगी एक खतरनाक इस्लामबादी भएको बताएको सन्चार माध्यमहरुले दावी गरेका थिए । युवराज सलमानले ह्वाइट हाउसमा गरेको एक फोनमा उक्त कुरा बताएका थिए ।

आफनी प्रेमिकासँग विवाह गर्न आवश्यक दस्तावेज लिन टर्कीको इस्तानबुल स्थित साउदी वाणिज्य दुतावास गएका खासोगीको त्यहीँ हत्या भएको थियो ।